दिनको १२ बजेको थियो होला, २०७४ चैत्र १ गते हुम्लाको चंखेली गाँउपालिकाको एउटा स्कुलमा पुगेका थियौं । स्कूलमा साना–साना बालबालिकाहरु मैला कपडा र नाकदेखि सिगान चुवाँउदै कितावका अक्षरलाई कनिकुथि फुटाउने कोशिस गरिरहेका थिए । ढुंगा र माटोले जसो तसो गारो उठाएर बनाएको कक्षा ५ सम्म पढाई हुने उक्त बिद्यालयको भुँईतला र माथिल्लो तलामा अफिससहित ४ वटा कोठा थिए । भवनको अवस्था जिर्ण थियो । तीन जना शिक्षक र एक कार्यालय सहयोगी भएको बिद्यालयमा एक जना शिक्षक काम बिशेषले बाहिर जानुभएको हुँदा हामीले भेट्न सकेनौ ।
पर्याप्त शिक्षक र कक्षा कोठा नहुँदा बहुकक्षा शिक्षण सञ्चालनमा ल्याइएको रहेछ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई कपी, कलमको अभाव सजिलै देख्न सकिन्थ्यो । विद्यार्थीहरुले पुस्तकमा भएका अक्षरलाई राम्ररी फुटाएर पढ्नसमेत सकिरहेका थिएनन् । एकै छिनमा हिँउ पर्यो, उनीहरु साथिको पछेउरी तानेर जाडोलाई जसो तसो छेक्ने कोशिस गरिरहेका थिए । खुट्टामा चप्पल पनि नलगाएका उनीहरु खालिखुट्टा नै हिँउलाई टेक्दै आफ्नो आफ्नो घर तिर लागे ।
अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनले उद्योग, कलकारखाना, यातायात, दैनिक ज्याला मजदुरी लगायत सबै कामकाज ठप्प भए । सबै बिद्यालयको पठनपाठन ठप्प भयो । मुखैमा आएको एसईई परीक्षा पनि रोकियो । स्कुल जान नपाउँदा बालबालिकाहरु अहिले घरमै छन् । बालबालिकाहरुको सिकाईलाई निरन्तरता दिने भनेर अहिले अनलाईनकक्षाहरु पनि सञ्चालनमा आइरहेका छन । संस्थागत बिद्यालयहरुले अनलाईन कक्षामार्फत आफ्ना बिद्यार्थीहरुलाई पढनपाठनको व्यवस्था मिलाउने जमर्कोमा रहेको कुरा पनि बाहिर आइरहेको छ ।
अनलाईन कक्षा सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य भनेको इन्टरनेट हो । अनलाईन कक्षा भन्नाले निश्चित समय तालिका र विषयवस्तुमा, विद्यार्थी र शिक्षकहरुले आफु उपयुक्त हुने स्थानबाट बिभिन्न प्रविधिहरु, इन्टरनेट एप्लिकेसन, टेलिफोन, कम्प्युटर र टिभीको प्रयोगबाट गरिने अध्यापन/अध्यायन हो । कक्षा सञ्चालन, शिक्षकले दिने निर्देशन, गृहकार्य तथा अन्य अभ्यासहरु इन्टरनेटबाट नै पुरा गरिन्छ भन्ने कुरा बुझ्दै आएका हामीले एकपटक सोचौं त, भौगोलिक बिकटताले बिजुलीबत्तीकोसमेत सुबिधा नपुगेको, सडक सञ्जालले नछोएको, इन्टरनेट मोवाइलको पहुँच नभएको तथा अशिक्षा र गरिबीले पिल्सिएका हाम्रा देशका अधिकांस बालबालिकालाई अनलाईन कक्षाले कसरी समेट्ला ?
ती बालबालिका, जसका बाबु आमाले साना छोरा छोरीलाई आफु मुनिका भाइ वहिनीलाई हेरचाह गर्न बिद्यालय नपठाई घरमै राख्छन र बिहान बेलुकाको छाकको जोहो गर्न मेलापात जान्छन । त्यस्ता बालबालिकालाई अनलाईन कक्षाले समेट्न सक्ला र ? जहाँ पुग्नै हामीलाई काठमाण्डौंदेखि नेपालगञ्जसम्मको नाइटबस, नेपालगञ्जदेखि मुगु ताल्चाबिमानस्थलसम्म हवाइयात्रा र मुगुदेखि ३ दिनसम्म लगातार हिँउ नै हिँउले भरिएको बाटोको कठिन पैदलयात्रा गर्नु परेको थियो ।
अनलाईन कक्षाका लागि इन्टरनेट सुविधासहित, कम्प्युटर र कम्प्युटर सम्बन्धि सीप पनि आवश्यक पर्छ । जुन ठाँउमा दैनिक खानेकुरा दाल, चामल, नुन, तेलसमेत पुर्याउँन कठिन छ । पैसा हुनेले खच्चडमा बोकाएर सामान ढुवानी गर्छन । नहुनेलाई सामान ढुवानी गर्न पनि निक्कै कठिन पर्छ । त्यस्ता ठाँउमा अनलाईन कक्षा र प्रविधिको प्रयोग गरी दिईने शिक्षाको कसरी पहुँच होला ?
ग्रामिण भेगका बालबालिका जसले एकसरो कपडा लगाउन र पेटभरी खान पनि पाएका छैनन् । कति बालबालिका त बिद्यालयसम्म पुग्न पनि सकिरहेको अवस्था छैन । बिद्यालय पुगेपनि कमजोर आर्थिक अवस्था र सानैमा अभिभावकबिहिन भएका कारण बिहान बेलुका घरायसी काममा समय दिनु पर्ने बाध्यता छ । जसले गर्दा पढाई र गृहकार्य गर्न समय निकाल्न सक्दैनन् । साथै प्राथमिक तहको पढाई पुरा गरिनसक्दै पढाई छोड्नु पर्ने बाध्यता पनि छ ।
हाम्रो देशका अधिकांस बिद्यालयमा भौतिक संरचना पनि जिर्ण छन् । एकातिर बालमैत्री र अपाङ्गमैत्री कक्षाकोठाको बहस पनि चलिरहेको छ । अर्को तिर बिद्यालयको भौतिक संरचना त के बिद्यार्थीलाई बस्ने डेक्स बेन्चको पनि राम्रो ब्यवस्थापन हुन सकेको छैन । त्यहि पनि आफ्ना बालबालिकालाई शिक्षित बनाउने अभिप्रायले जसो तसो बिद्यालय पठाएका अभिभावकलाई सान्तवना स्वरुप पठनपाठन सञ्चालन गर्नुपर्ने शिक्षकलाई बाध्यता छ । यस्तो परिवेशमा कसरी प्रविधिको सहयोग लिएर सञ्चालन गरिने अनलाईन कक्षा प्रभावकारी हुन्छ ?
यी तस्बिरले देशका बिकट भौगोलिक अवस्था भएका जिल्लाका बिद्यालयको प्रतिनिधित्व गरेको छ । देशका बिकसित शहरहरुलाई आधार मानेर चलाइने अनलाइन कक्षाहरुले यी बालबालिकाको पहुँचलाई पक्कै पनि समेट्न सक्दैन । लकडाउनले गर्दा ग्रामिण बस्तिहरुका बिद्यालय र बिद्यार्थीलाई प्रत्यक्ष असर त परेको छ । हुम्ला त एउटा भौगोलिक बिकटता भएको प्रतिनिधि जिल्ला मात्र हो । यस्तै विकटता भएका हिमाली, पहाडी र तराईका ग्रामिण बस्तीहरु धेरै छन् । सबैको पहुँचमा नपुग्ने अनलाईन कक्षाले त्यस्ता विकट र ग्रामीण बस्तिमा भएका बालबालिकालाई अन्याय गर्न सक्छ । यस्तो अवस्थामा सबै बालबालिकाको हित हुनेगरी सरकार र शिक्षाबिद् लगायत सरोकारवालाहरुले ध्यान पुर्याउँनुपर्छ । ग्रामीण बस्तीका बालबालिकासहित सबैको सिकाईमा निरन्तरता दिन कस्तो बिकल्प र कस्तो सिकाई प्रणालीको बिकास गर्न सकिन्छ, यसमा सरोकारवालाले समयमै ध्यान दिन अपरिहार्य छ ।
भनिन्छ बालबालिका भविष्यका कर्णाधार हुन । तर लाउने, खाने आधारभूत आवश्यकता नै पुरा नभएका बालबालिकाले भोलिको कर्णधार बनेर देशको भविष्य कसरी कोर्लान ? यहाँ त बालबालिकाको वैयक्तिक विकासमा नै लकडाउन भैरहेको छ ।