धनकुटा । मुख्यगरी धनकुटामा बसोबास गर्दै आएका आठपहरिया जातिको महान चाड वाडाङमेट सुरु भएको छ । धनकुटा नगरपालिका क्षेत्रलाई उद्गम स्थल मान्दै आएका अल्पसंख्यक आठपहरियाहरु अहिले वाडाङमेट (मंसिरे चाड) को रमझममा छन् ।
आठपहरिया जातिले १५ दिनसम्म धुमधामपूर्वक वाडाङमेट मनाउँने गर्छन् । यो चाडको अवसरमा पुत्र लाभ भएको परिवारमा बराहमाङ र मार्गाहामाङलाई साक्षी राखेर दिर्घायूको कामना गर्दै जन्मोत्सवलाई हर्ष बढाई गरी मनाउने चलन छ ।
त्यस्तै बिगत एक बर्षको अवधिमा मृत्यु भएका व्यक्तिको पितृकार्य पनि यो चाडसँगै सक्ने परम्परा रहेको किराँत आठपहरिया समाज नेपालका केन्द्रीय महासचिव सूर्य आठपहरियाले बताए । ‘एक बर्ष अघिदेखि हालसम्म मृत्यु भएका सवैको काजकिरिया यत्तिवेला नै सकिन्छ । एक दिन अघि मृत्यु भएपनि वाडाङमेट भित्र सवै चोखिन्छन् ।’ उनले भने ।
यो भन्दा अघि मृत्यु भएकाको काजकिरिया सकी दुःख भुलेर हर्सोल्लासपूर्वक वाडाङमेट मनाउँने गरिन्छ । तर, वाडाङमेट सकिएपछि मृत्यु भएकाको काजकिरिया सक्न भने अर्को सालको वाडाङमेट पर्खिनुपर्ने चलन छ ।
हरेक घर–घरमा फुलमाला पहिरिएर केसिङ (ढोल) सहित समूह–समूहमा गोलबद्ध भई १५ दिनसम्म निरन्तर नाचगान गर्दै वाडाङमेट मनाउँने गरिन्छ । एक बर्षभरी मृत्यू भएका आफन्तहरुको चीर शान्ति र भावी पुष्ताको उन्नतिको कामना गर्दै शुभकामना साटासाट गरिन्छ ।
कार्तिक पूर्णिमाबाट सुरु हुने यो चाड आ–आफ्ना घरमा अन्न र मासुबाट बनाईएका विभिन्न परिकार चिउरीको पातमा राखेर आफन्तलाई प्रसाद स्वरुप बाँडेर खाई अैंसीमा समापन हुन्छ । मंसिरे चाड वाडाङमेटलाई सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा वाडाङमी भनेर मनाउने गरिन्छ ।
देशभर करिब १० हजारको संख्यामा रहेका आठपहरियाहरुमध्ये धनकुटामा मात्रै झण्डै ८ हजारको बसोबास छ । धनकुटा नगरपालिकाको वडा नं. २, ७, ८ र ९ मा आठपहरियाको मुख्य बसोबास छ ।
आदिवासी जनजातिमा सुचिकृत हुनबाट बञ्चित आठपहरियाहरुले बर्षौदेखि आदिवासी जनजातिमा सुचिकृतको माग गर्दै आएका छन् ।