
विराटनगर । सडकमा चालकहरूले भोग्नु परेका समस्याहरू समाधानको माग गर्दै पूर्वाञ्चल चालक संघले विराटनगरमा प्रदर्शन गरेको छ । शान्तिपूर्ण प्रदर्शनमा चालहरूले ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गर्दै व्यवहारमा सुधार गर्न माग गरेका छन् ।
संघका अध्यक्ष टिकराम बरालको नेतृत्वमा प्रदर्शनमा उत्रिएका उनीहरूले चालकहरूमाथि हुने दमन र ट्राफिक अत्याचार बन्द हुनुपर्ने माग गरे ।
‘चालकहरूले भोग्नुपरेका दुःख अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो’, संघका अध्यक्ष बरालले संगालोखबरसँग भने, ‘ट्राफिक प्रहरीदेखि अन्य निकायबाट हामीलाई दिइने दुःख विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हौँ ।’

उनका अनुसार ट्राफिक प्रहरीले चेकजाँचका क्रममा अनावश्यक दुःख दिँदै आएको छ । उनले ट्राफिक चेकिङलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिए । ‘चालकमाथि हुने कुटपिट, दुव्र्यवहार लगायतका घटना रोकिनुपर्छ’, उनले भने, ‘यस्तै पार्किङ अभावका कारण भोग्नु परेका समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो माग हो ।’
यस्तै गाउँपालिका र नगरपालिकाका नाममा हुने अनावश्यक असुली धन्दाको अन्त्य हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए । ‘चेकजाँचका नाममा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिँदै आएको छ’, उनले थपे, ‘बरगाछीबाट ढाट पुग्दा चार ठाउँमा चेकजाँच हुन्छ । यसले हामीलाई धेरै दुःख भयो ।’
उनले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । विराटनगरमा मात्र नभएर देशभरकै चालकले भोकेका समस्याविरुद्ध आवाज उठाउन शान्तिपूर्ण प्रदर्शन गरिएको उनले जानकारी दिए ।

संगालोखबर 



















