विराटनगर । धनकुटाको सहिदभूमी गाउँपालिकाका १६ सहिद परिवारलाई प्रदेश १ सरकारले प्रति परिवार पाँच लाख राहत रकम दिने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सहिद परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको हो ।
पञ्चायती शासन व्यवस्था बिरुद्ध २०३६ सालमा भएको आन्दोलनमा जिल्लाको तत्कालिन छिन्ताङ र आँखिसल्ला गाबिसका एक महिलासहित १६ जनाको हत्या भएको थियो । केहि बर्षअघि केन्द्र सरकारले उनीहरुलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य निरन राई, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायतको टोलीले केहि दिन अघि मुख्यमन्त्री शेरधन राईलाई भेटेर पत्र बुझाउँदै सहिदलाई राहत उपलब्ध गराउँन आग्रह गरेका थिए । त्यसपश्चात बसेको मन्त्रीपरिषद् बैठकले राहत प्रदान गर्ने निर्णय गरेको हो ।
छ जिल्लामा प्रदेश लेखा इकाइ स्थापना गरिने
प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशका छ जिल्लामा प्रदेश लेखा इकाइ स्थापना गर्ने निर्णय पनि गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय अन्तर्गत रहने गरी मोरङ, झापा, पाँचथर, धनकुटा, ओखलढुंगा र उदयपुरमा प्रदेश लेखा इकाइ स्थापना पर्ने निर्णय भएको हो ।
यस्तै वन निर्देशनालय धरानमा दशौं तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने, प्रदेश यातायात निर्देशनालय गठन नभइसकेकाले मन्त्रालयले नै सो काम गर्ने, कार्तिक २९ गते धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने लगायत निर्णय भएको प्रदेश सरकारले जनाएको छ ।