- संगालोखबर सम्वाददाता

धनकुटा । शहीद भीमनारायण श्रेष्ठले लोकतन्त्र स्थापनाका लागि पुर्याएको योगदानलाई राज्यले उचित कदर गर्न नसकेको उनका आफन्त र शुभचिन्तकले गुनासो गरेका छन् । शहीद श्रेष्ठको ८३ औं जन्मजयन्तीका अवसरमा मंगलबार धनकुटाको भीमनारायण चौकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा शहीद श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी, छोरा मनोजनारायण, छोरी ममता, कांग्रेस महासमिति सदस्य आनन्दसन्तोषी राई, कांग्रेस नेता विश्वप्रकाश श्रेष्ठ, पूर्व सांसद अञ्जना ताम्ली, कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य लगायतले शहीद श्रेष्ठको योगदानलाई राज्यले उचित सम्मान गर्न नसकेको गुनासो गर्दै शहिदको सम्मानमा राज्यले कञ्जुस्याई गर्न नहुँने धारणा राखे ।

शहीद श्रेष्ठको योगदान बताउँदै कांग्रेस सचिव बिजय सन्तोषी राईले राजालाई बम हान्ने आट भएका साहसिक भीमनारायणलाई बलिदान र समर्पण प्रतिकको संज्ञा दिए । सो अवसरमा आफन्त र शुभचिन्तकले शहीद श्रेष्ठको सालिकमा माल्र्यापण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।


१९९४ असार २४ गते धनकुटामा जन्मिएका श्रेष्ठले २०३० चैत्र ३ गते तत्कालिन राजा विरेन्द्र बिराटनगर आएका बेला उनलाई लक्षित गरी बम प्रहार गरेका थिए । सोहि अभियोगमा पक्राउ गरिएका श्रेष्ठलाई जेलमा राखेर कठोर यातना दिईयो । अन्ततः २०३५ माघ २६ गते श्रेष्ठलाई गोली हानी हत्या गरिएको हो ।

श्रेष्ठलाई एक बर्ष अघि राष्ट्रिय शहीद घोषणा गरिएको छ । उनको स्मृतिमा धनकुटाको सिरान बजारमा सालिक निर्माण गरी ‘भीमनारायण चौक’ नामाकरण गरिनुका साथै हरेक बर्ष भीमनारायण गोल्डकप पनि सञ्चालन गरिदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!