विराटनगर । प्रदेश १ सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम सार्वजनिकको तयारी गरेको छ ।

Advertisement

कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको हो ।

नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले धरान–मूलघाटलगायत क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने घोषणा पनि गर्दैछ ।

सुनसरीको धरान र धनकुटाको मूलधाट तथा अन्यत्र पनि सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको प्रदेश सरकार स्रोतले जानकारी दिएको छ ।

प्रदेश सरकारले दोस्रोपटक ल्याउन लागेको नीति तथा कार्यक्रममा यसअघिकै योजनाहरुलाई निरन्तरता दिएको छ ।

यस अघिको नीति तथा कार्यक्रममा सगरमाथाको आधार शिविरमा केवलकार चलाउने उल्लेख थियो । त्यसैगरी, फुङलिङ–पाथीभारा, धरान–भेडेटार, जयरामघाट–हलेसी, वराहाक्षेत्र–सुर्यकुण्ड, बाह्रबीस–सभापोखरी, केरावारी–जेफाले र अन्तुडाँडा–मंगलबारेलगायतका स्थानमा पनि केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख थियो ।

यसबाहेक देशकै होचो भूभाग केचना र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई सडकले जोड्ने कार्यक्रमलाई पनि यसपटक समेटिएको स्रोतले जनाएको छ ।

कृषि क्षेत्रका दीक्षित विद्यार्थीलक्षित कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । फलफूल र नगदे बालीलाई विशेष प्रोत्साहित गर्ने सरकारको योजना छ ।

सरकारले वृहत विराट क्षेत्रको विकास योजनाका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै, राजधानीको संरचना निर्माणलाई पनि प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारलगायतका क्षेत्रलाई पनि उत्तिकै महत्त्वका साथ समेटिएको बताइएको छ ।

प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशसभामा पेश गरेको सरकारको नीति तथा कार्यक्रम बिहीबार अपराह्न ३ बजे सार्वजनिक हुनेछ । बुधवारसरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि बिदा परेपछि आजका लागि सरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!