काठमाडौं, १२ बैशाख। बुधबार बिहानको भुइँचालोलगत्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा तारन्तार फोनको घन्टी बज्न थाल्यो। आधा घन्टामै झन्डै ५० देखि ६० कल। केन्द्रमै रहेका भूकम्पविद् चिन्तन तिम्सिनालाई फोन उठाउन भ्याइनभ्याइ भयो। अधिकांशको एउटै जिज्ञासा थियो- कति रेक्टर स्केल? कहाँ केन्द्रविन्दु?

Advertisement

चिनेजानेका र आफन्तले मोबाइलमै फोन गरेर पनि चिन्तनलाई हैरान पारे। यसरी भुइँचालो आउनासाथ फोन गरेर केन्द्रविन्दु र रेक्टर स्केल सोध्नेहरूका लागि चिन्तनसँग कुनै जवाफ हुन्छ त?

‘तुरून्तै फोन गरे हुँदैन, पाँच मिनेटपछि गर्ने हो भने हामी कति शक्तिको भुइँचालो थियो र केन्द्रविन्दु कहाँ थियो भनेर ठ्याक्कै बताउन सक्छौं,’ चिन्तनले भने।

त्यो पाँच मिनेटमा कसरी नापिन्छ त भुइँचालो?

केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार भुइँचालो नाप्न देशभर २१ वटा स्टेसन छन्। पूर्वमा ताप्लेजुङदेखि पश्चिममा प्यूठानसम्म। ती स्टेसनमा भुइँचालो नाप्ने यन्त्र ‘सिस्मोमिटर’ जडान गरिएको छ। जसले प्रत्येक सेकेन्ड पृथ्वीको चाल नाप्छ। सिस्मोमिटरले नापेको त्यही चाल काठमाडौंस्थित भूकम्प मापन केन्द्रको सर्भरमा रेकर्ड हुन्छ।

काठमाडौंबाहेक भुइँचालोको यस्तो तरंग नाप्ने अर्को रेकर्डिङ सेन्टर पनि छ, सुर्खेतको वीरेन्द्रनगरमा। त्यहाँ रुकुमदेखि बैतडीसम्मका नौवटा सेन्टरबाट प्राप्त हुने तरंग रेकर्ड र प्रशोधन हुन्छ। बाँकी १२ वटा सेन्टरले पठाउने तरंग काठमाडौं केन्द्रले प्रशोधन गर्छ।  भुइँचालोका तरंग काठमाडौंको मापन केन्द्रमा उतिन्खेरै प्राप्त हुने चिन्तन बताउँछन्।

उनका अनुसार ३.५ म्याग्निच्यूडभन्दा माथिको भुइँचालो आएलगत्तै मापन केन्द्रमा ‘ट्रिङ, ट्रिङ’ अलार्म बज्छ। कुनै एउटा स्टेसनले पठाएको संकेतका भरमा अलार्म बज्ने होइन। यसको निम्ति कम्तिमा तीनवटा स्टेसनले भुइँचालो तरंग रेकर्ड गरेर केन्द्रमा संकेत पठाउनुपर्छ। यति मात्र होइन, केन्द्रमा अलार्म बजेसँगै त्यहाँ कार्यरत भूकम्पविद्हरूको मोबाइलमा घन्टी पनि जान्छ। कम्प्युटरले मोबाइलमा पठाउने अटोमेटिक सूचनाले भन्छ- ‘भूकम्पका तरंग आइरहेका छन्। तपाईंहरू ल्याबमा जानुहोस्।’

अफिसको अर्लाम र मोबाइलको घन्टीपछि भूकम्पविद्हरू केन्द्रमा रेकर्ड भएको भुइँचालो तरंगको शक्ति र केन्द्रविन्दु मापन गर्न थाल्छन्।चार म्याग्निच्यूडभन्दा ठूलो भुइँचालो गए नेपालभरका सबै स्टेसनले मापन गर्छन्। त्यस्तोमा काठमाडौंको केन्द्रमा अलार्म बज्छ। यसबाहेक गोरखादेखि दोलखासम्म भने ३.५ म्याग्निच्यूडको भुइँचालो जाँदा पनि अलार्म बज्छ।

विश्वका कुनै पनि स्थानमा पाँच म्याग्निच्यूडभन्दा शक्तिशाली भुइँचालो गए काठमाडौं केन्द्रले रेकर्ड गर्ने चिन्तनले जानकारी दिए। ‘हामी दिनभरि कम्प्युटर मनिटरमा यस्तै तरंग अध्ययन गरेर बस्छौं,’ उनले भने, ‘सामान्य अवस्थामा आउने तरंगलाई हामी ‘प्राइमरी’ तरंग भन्छौं। जब भूकम्प आउँछ, अर्को तरंग उत्पन्न हुन्छ। त्यसलाई ‘सेकेन्डरी’ तरंग भनिन्छ। त्यस्ता तरंग नापेर हामी भुइँचालो गएको थाहा पाउँछौं।’

उनका अनुसार पूर्वमा भुइँचालो गयो भने सबभन्दा पहिला ताप्लेजुङको सेन्टरमा रेकर्ड हुन्छ। त्यसपछि क्रमश: अन्य स्टेसनमा रेकर्ड हुन्छन्। त्यस्तै, पश्चिममा भुइँचालो गए प्यूठानमा पहिला रेकर्ड हुन्छ। यी सेन्टरहरूमा हुने मापनबाट भुइँचालो गएको स्थान, समय र म्याग्निच्यूड निकालिन्छ।

मापन केन्द्रले सबभन्दा पहिला कुन स्टेसनमा कति बजे भुइँचालो तरंग मापन भयो, त्यसको रेकर्ड हेर्छ। त्यसपछि ‘सेकेन्डरी’ तरंग देखिन थालेको समय र कतिबेरसम्म कम्पन रह्यो भन्ने हेर्छ। ‘म्याग्निच्यूड हिसाब गर्दा पनि हामी सेकेन्डरी तरंग कति माथिसम्म पुग्यो भनेर हेर्छौं,’ चिन्तनले भने, ‘सेकेन्डरी तरंग कति टाढाबाट सेन्टरमा आयो भन्ने हेरेर दुरी पत्ता लगाउँछौँ।’

दुरीका आधारमा त्यसको अक्षांस र देशान्तर पत्ता लगाउने उनले बताए।’कुन स्टेसनमा कति टाढाबाट तरंग आयो भनेर हेरिन्छ,’ उनले भने, ‘म्यानुअली तथ्यांक निकाल्न सबैजसो स्टेसनबाट मापन भएका तरंगको औसत निकालिन्छ।’ उदाहरणका लागि, कुनै स्टेसनमा ३.८ आउँछ, कुनैमा ४.३ आउँछ। सबैको औसत गरेर ४.२ म्याग्निच्यूड भनेर तोकिन्छ।

भुइँचालोको केन्द्रविन्दु ठ्याक्कै भन्न भने सहज हुँदैन। त्यसैले केन्द्रविन्दु फलानो ठाउँ आसपास भनेर केन्द्रले सूचना दिने गर्छ। जस्तै- फुल्चोकीको सेन्टरले ४ किलोमिटर टाढाबाट तरंग आयो भन्दै दिशा देखायो भने त्यही आधारमा कीर्तिपुर पश्चिमबाट भुइँचालो आएको मानिन्छ।

‘हामी सेकेन्डरी तरंग कति टाढाबाट आयो भनेर दुरी हेर्छौं। त्यसबाट अक्षांस र देशान्तर पत्ता लाग्छ। त्यो तथ्यांकमा केही प्लस-माइनस हुन्छ। ठ्याक्कै ‘पिन-प्वाइन्ट’ हुन्न,’ चिन्तनले भने, ‘त्यसको आसपास हुन्छ।’ हरेक स्टेसनले पठाउने यस्तै तथ्यांक प्रशोधन र विश्लेषण गर्न समय लाग्ने हुँदा पाँच मिनेटपछि मात्र सूचना दिन सकिने उनले बताए।

चार म्याग्निच्यूडभन्दा बढीको भुइँचालो भए केन्द्रले आफ्नो वेबसाइटमा प्रकाशित गर्छ। मोबाइल एप्समा अपडेट गर्छ। लगत्तै गृह मन्त्रालयको नेसनल इमरजेन्सी अपरेसन सेन्टरमा जानकारी पठाउँछ।

भूकम्प मापन केन्द्र विस्तारै ‘अटोमेटिक डिटेक्सन’ तर्फ जाने तयारीमा रहेको उनले बताए। केन्द्रमा अहिले पनि अटोमेटिक डिटेक्सन सेन्टर छ। केन्द्रले त्यसको मापन सही भए-नभएको जाँच गर्दै आएको छ।

‘संसारभर अटोमेटिक सिस्टम लागू हुँदै गएका छन्,’ चिन्तनले भने, ‘हामी पनि त्यसतर्फ लागेका छौं। तर, अन्तिम म्याग्निच्यूड निकाल्न तरंगहरू म्यानुअली नै हेर्नुपर्छ।’

भुइँचालो तरंग मापन गर्ने ‘सिस्मोमिटर’ कस्तो हुन्छ त?

चिन्तनका अनुसार सिस्मोमिटरभित्र तामाको तार हुन्छ भने बाहिर चुम्बक। भित्रको तारलाई स्प्रिङले अड्याइन्छ। चुम्बक भने जमिनमा राखिन्छ। त्यही चुम्बक हल्लिएपछि सिस्मोमिटरमा तरंग आउँछ। बढी हल्लिने चुम्बक र कम हल्लिने तारबीचको भोल्टेज स्टेसनले रेकर्ड गर्छ।

‘त्यो तरंगलाई केन्द्रसम्म पठाउन त्यसमा ट्रान्समिटर राख्नुपर्छ। त्यसलाई पावर दिन सोलार सिस्टम जडान गरेका छौं,’ उनले भने, ‘ट्रान्समिटरबाट आएको तरंग रिसिभरमार्फत् रेकर्ड हुन्छ।’

यस्ता स्टेसनहरू बसोबास क्षेत्रभन्दा सामान्यतया बाहिर राखिन्छ, हत्तपत्त मान्छे नपुग्ने ठाउँमा। हावाहुरी आउँदा पनि त्यसको तरंग मापन हुन्छ, तर त्यो भुइँचालोको तरंग हो कि होइन चिन्न सकिन्छ। त्यसलाई अन्य स्टेसनको तरंगसँग तुलना गरेर पनि हेरिन्छ।

भूकम्पविद् चिन्तनको दैनिकी सामान्यतया कम्प्युटरमा यस्तै तरंग हेर्दै र विश्लेषण गर्दैमा बित्छ। अझ आफू बस्ने ठाउँबाट नजिक भएकाले भुइँचालो आइहाले उनी हत्तपत्त लैनचौरस्थित खानी तथा भूगर्भ विभागमा रहेको मापन केन्द्र पुगिहाल्छन्।

‘हामी चौबीस घन्टै भुइँचालो तरंग मोनिटर गर्छौं,’ केन्द्रका वरिष्ठ भूकम्पविद् कोइरालाले भने, ‘नजिक बस्ने भएकाले तुरून्तै दौडिनुपरे चिन्तन नै पहिला आइपुग्छन्।’

यसरी भुइँचालो गएका बेला दौडिने कर्मचारी बाँकी समय के गर्छन् ?

‘भुइँचालो जाँदा बाहेक अरू समय हाम्रा कर्मचारीलाई हाइसन्चो होला भन्ने सोच धेरैमा छ,’ खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले भने, ‘त्यस्तो हुँदैन, हामी अरू बेला पनि निरन्तर अध्ययन र अनुगमन गरिरहेका हुन्छौं।’

विभागका यी भूकम्पविद्हरूले यही अध्ययनका आधारमा नेपालमा भुइँचालोको संरचना नै तयार पारेको सापकोटाले गर्वसाथ सुनाए।

‘उच्च हिमाली क्षेत्रको ३५ सय मिटर उचाइमा भुइँचालोको भ्रूण उत्पन्न हुन्छ। त्यसको गहिराइ २० देखि २५ किलोमिटर हुन्छ। त्यही भ्रूण क्रमश: ठूलो हुँदै चुरेको फेदसम्म पुग्छ भनेर हामीले सिद्धान्त नै बनाएका छौं,’ उनले भने।

भूकम्प मापन केन्द्रले नेपालमा ठूला भवन निर्माणदेखि जलविद्युत आयोजनाका लागि बाँध बनाउनसमेत भूकम्पीय तथ्यांकहरू उपलब्ध गराउँदै आएको महानिर्देशक सापकोटाले जानकारी दिए।

‘पूर्वाधार निर्माणमा हाम्रो भूमिका छ। संसारभरको भूकम्प अध्ययनका लागि पनि हामीले तथ्यांक उपलब्ध गराउने काम गरिरहेका छौं,’ भुइँचालो अध्ययनमै पिचएडी गरेका सापकोटाले भने। सेतोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!