काठमाडौँ, १० बैशाख। वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ ।

Advertisement

नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र गत बुधबारको ‘द एस्ट्रोनोमिकल जर्नल’ मा छापिएको छ ।

नयाँ ग्रह खोजीमा संलग्न युनिभर्सिटी अफ टेक्सास, अर्लिङटनका भौतिकशास्त्र विभागका सुमन सत्यालका अनुसार केप्लर–४७ डी ‘सर्कम बाइनरी (दुइटा सूर्य वरिपरि घुम्ने) ग्रह हो ।सत्याल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का वैज्ञानिक सल्लाहकारसमेत हुन् । ‘यो ग्रहमा दुइटै सूर्य उदाउने र अस्ताउने गर्छन्,’ सत्यालले कान्तिपुरसँग भने, ‘यो बाइनरी स्टार प्रणालीको वरिपरि ३ वटा ग्रह घुमिरहेका छन् ।’ उनका अनुसार तीनवटा ग्रहले दुइटा सूर्यको वरिपरि घुमेको तथ्य पहिलो पटक पत्ता लगाएको हो ।

सत्यालले नयाँ ग्रहमा जीव हुने सम्भावना न्यून रहेको बताए । ‘यो ग्रह पानी रहन योग्य क्षेत्रमा परे पनि धेरै ठूलो हुनुका साथै ग्यासले बनेकाले सतहमा पानी छैन,’ उनले भने, ‘पानी अभावका कारण यो ग्रहमा जीव हुने सम्भावना न्यून छ ।’ सत्यालका अनुसार यो ग्रहको चन्द्रमा (उपग्रह) रहेछ भने त्यसको आकार पृथ्वी जत्रो हुन सक्ने बताए । ‘त्यहाँ भने जीव हुने सम्भावना धेरै हुन्छ,’ सत्यालले भने, ‘तर हालको वैज्ञानिक खोजले उपग्रह पत्ता लगाउन सकेको छैन ।’

विशेषज्ञहरूका अनुसार सौर्यमण्डलभन्दाबाहिर करिब ४ हजार वटा ग्रहहरू पत्ता लागिसकेका छन् । ती ग्रहहरूको उपग्रह खोज्ने काम जारी छ । सौर्यमण्डल ग्यालेक्सी (आकाशगंगा) मिल्की वेमा छ । ब्रह्माण्डमा करिब ४ सय अर्ब आकाशगंगा छन् ।
प्रत्येक आकाशगंगामा २०० अर्बदेखि ४०० अर्ब तारा छन् । मिल्की वे करिब २०० अर्बभन्दा बढी तारासहितको एउटा ग्यालेक्सी हो । हाम्रो सूर्य ती तारामध्ये एक हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!