दमौली, १३ चैत । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्नुहुन्छ ।

उहाँहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आउनुभएको छ । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापा लगायतका कृषकहरु व्यावसायिक बाख्रापालनमा आबद्ध हुनुहुन्छ ।

परम्परागत रुपमा मात्रै बाख्रापालन गर्दैआएका यहाँका अधिकाँश कृषकले २०७१ सालदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्न शुरु गरेका हुन् । यहाँका कृषकहरुले घटीमा १० र बढी ७० वटा बाख्रा पालेका छन् ।

यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण रहेको छ ।

त्यस्तैमध्येका एक हुनुहुन्छ, युवा कृषक शिवकुमार आले । आत्मविश्वास, हातमा शीप र निरन्तरको लगावले मानिस सफल हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ, उहाँले ।

विसं २०६८ देखि बाख्रापालन शुरु गर्नुभएका आलेले वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । सब–ओभरसियरको पढाइ सक्ने बित्तिकै सोही वर्षदेखि उहाँले व्यावसायिक रुपमा बाख्रापालन शुरु गर्नुभएको हो । बुबाको परम्परागत शैलीको बाख्रापालनलाई उहाँले व्यावसायिक रुप दिनुभयो ।

सब–ओभरसियर उत्तीर्ण भएपछि जागीर नखाएर किन पशुपालनतर्फ लागेको भन्ने प्रश्न गाउँलेले गर्ने गरेको स्मरण सुनाउँदै उहाँले भन्नुभयो – “मैले गाउँमै बसेर पशुपालनमार्फत गाउँलाई नमूना बनाउँछु भन्ने अठोट गरें र यसतर्फ अगाडि बढें ।”

विसं २०६८ अगावैदेखिको व्यवसायलाई आलेले व्यवस्थित गर्न चाहनुभयो र उहाँ यसमा सफल पनि हुनुभयो ।

बाख्रापालनका लागि आधुनिक बाख्रा खोर निर्माण गरिएको छ । हाल ५५ वटा बोयर र स्थानीय जातको बाख्रा रहेकामा एक महिनापछि ७० भन्दा बढी बाख्रा पुग्ने उहाँको दाबी छ ।

आत्मविश्वास र परिश्रमले मात्रै मानिस सफल हुन्छ भन्ने भनाइलाई आलेले प्रमाणित गर्नुभएको छ । अन्न फल्ने खेतबारीमा बाख्राका लागि घाँसखेती गर्दा कमैले मात्रै उत्प्रेरणा प्रदान गरे तर, उहाँले आफ्नो कर्म गर्न छोड्नुभएन । फलस्वरुप उहाँ अहिले जिल्लाकै नमूना बाख्रापालक कृषकको रुपमा परिचित हुन सफल हुनुभएको छ ।

उहाँले बाख्रापालनका लागि १५ हजार भन्दा बढी घाँसका विरुवा रोप्नुभएको छ । उहाँले भन्नुभयो – “पहिला–पहिला त गाउँमा बसेर के पशुपालन गरेको ? विदेश जाउ पनि भन्थे तर, अहिले मेरो सफलता देखेर अन्य मानिसले समेत हौसला दिने गरेका छन् ।”

साना किसान लघुवित्तमार्फत १० महिना इजरायल बसेर फर्किनुभएका उहाँले पशुपालनको क्षेत्रमा थप कुराहरु सिक्ने अवसर पाउनुभएको छ ।

उहाँले भन्नुभयो – “इजरायलमा बस्दा कृषिका बारेमा धेरै कुरा सिक्न पाएँ । पानीको अभाव रहे पनि इजरायलमा राम्रो खेती भएको रहेछ । हाम्रोमा त प्राकृतिक रुपमै पानी प्रशस्त छ । त्यसलाई सदुपयोग गर्न सके धेरै काम गर्न सकिन्छ ।”

परम्परागत रुपमा बाख्रा पाल्दै आउनुभएका श्रीमाया आलेले व्यावसायिक बाख्रापालनका लागि लाखौं खर्चिएर सुधारिएको खोर निर्माण गर्नुभएको छ ।

उहाँले रु बाह्र लाखको लागतमा सुधारिएको खोर निर्माण गर्नुभएको छ । उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँसमेत बनाइएको छ । खोरमा दाना ख्वाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ ।

बाख्रापालनका लागि उहाँले पन्ध्र रोपनी क्षेत्रफलमा घाँसखेती समेत गर्नुभएको छ । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्री र मोलाटो जातका घाँसखेती गर्नुभएको छ ।

स्थानीय नरमाया थापा बाख्रापालन आम्दानीको स्रोत बनेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “पहिला–पहिला बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान नै थिएन । मकैमा हाल्न मलको लागि मात्रै बाख्रा पाल्थ्यौं त !”

निर्वाहमुखी रुपमा मात्रै गरिने बाख्रापालनले आम्दानी नहुने थाहा पाएपछि व्यावसायिक रुपमा नै बाख्रापालनलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

अहिले २६ वटा बोयर जातको बाख्रा पाल्नुभएका उहाँले बाख्रालाई खुवाउन किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी र भुईघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्रि र मोलाटो जातका घाँसखेती समेत गर्नुभएको छ । बाख्रापालनबाट उहाँलाई वार्षिक चार लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ ।

भिमाद नगरपालिका–९ का वडाध्यक्ष इमान थापा बाख्रापालनमा यस ठाउँलाई नमूना बनाउने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “जिल्लाकै नमूना बाख्रापालन गाउँको रुपमा पहिचान बनाउन सकिए यस ठाउँलाई पर्यटकीय हिसाबले समेत उजिल्याउन सकिन्छ ।”

वडाध्यक्ष थापाले बाख्र्रापालक कृषकलाई वडाको तर्फबाट गर्न सकिने सबै प्रकारका सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!