कास्की, १३ चैत । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ ।

Advertisement

महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो ।

महानगरले ५० प्रतिशत अनुदानमा ट्र्याक्टरवितरणका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेकामा २२२ कृषक तथा समूहले निवेदन दर्ता गरेकामा प्राथमिकताका आधारमा वितरण गरिएको महाशाखाले जनाएको छ । महानगरका ३३ वडामध्ये २३ ट्याक्टरका लागि माग भएको र बाँकीलाई वितरणको तयारी गरिएको कडरियाको भनाइ छ ।

महानगर प्रमुख मानबहादुर जिसीले यान्त्रिकरणको माध्यमबाट खेती गर्दा कम जनशक्तिको प्रयोगबाट अधिकतम लाभ लिन सकिने भन्दै कृषिलाई यान्त्रिकरण र व्यावसायिक बनाउँदै लैजाने महानगरको योजना रहेको बताउनुभयो । गुणस्तरीय उत्पादन गरी बजारीकरण गर्ने यहाँको उत्पादनलाई ब्रान्डिङ गरी स्थानीय कृषक तथा उत्पादनलाई प्रवद्र्धन गर्ने योजना रहेको प्रमुख जिसीले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा सहभागी ५० कृषकलाई यान्त्रिकरण, सञ्चालन तरिका, अनुदानमा प्राप्त ट्र्याक्टरसहुलियतदरमा अन्य सदस्यलाई दिनुपर्नेलगायतमा अभिमूखीकरण गरिएको थियो । महानगरले यसै वर्षमा कृषकलाई कृषि उपकरण सहजताका लागि सहुलियतदरमा उपलब्ध गराउने उद्देश्यले उपकरण केन्द्र स्थापनाको तयारी गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको साझेदारीमा कृषकलाई कृषि उपकरण भाडामा उपलब्ध गराउने प्रयोजनका लागि (कस्टम हायारिङ केन्द्र) स्थापना गरिने महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । यसका लागि चालू आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!