ओखलढुङ्गा, ३ चैत । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ । लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो ।

स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्षेत्र हो भनेर लेखिएका बोर्ड र ब्यानर राखिएका छन् । त्यहाँ मदिरा बिक्री वितरण र सेवन गरे कारवाही हुन्छ ।

करीब पाँच वर्षअघि नै यो अभियान थालिएको भए पनि प्रभावकारी हुन सकेको थिएन । पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले क्लबको समन्वयमा सक्रियता बढाएर अनुगमन गर्न थालेपछि सोब्रुमा मदिरा निषेध अभियान प्रभावकारी बनेको छ ।

क्लबका पदाधिकारी, जनप्रतिनिधिसहितको उपस्थितिमा सोब्रु क्षेत्रका व्यवसायी र अगुवासँग छलफल गरेर कडाइका साथ नियम लागू गराइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताउनुभयो ।

मदिराका कारण हिंसा र गैरकानूनी गतिविधि बढाएकाले नियन्त्रण अभियानमा प्रहरी जुटेको मल्लले बताउनुभयो । ‘‘जिल्लामा हुने अधिकांश घटना मदिराकै कारण सिर्जना भएको पाइयो’’ उहाँले भन्नुभयो, “त्यो अवस्था सुधारका लागि हामी प्रयत्न गरिरहेका छौँ ।”

प्रहरीले गाउँगाउँमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेर मदिराको उत्पादन बिक्री वितरण र सेवनमा ध्यान दिन सुझाव दिने गरेको छ ।

सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा आठ वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनको सहयोगमा लालुपाते क्लब सञ्चालनमा आएको हो । कुलतमा फसेर उन्मुक्ति पाएका १६ जना मिलेर शुरु गरेको लालुपातेले अहिलेसम्म १७५ भन्दा बढीको उपचार गरेको छ ।

उपचार गराइएकामध्ये १५० भन्दा बढी पूर्ण रूपमा कुलतमुक्त भएको क्लबका अध्यक्ष तिलक राईले बताउनुभयो । क्लबले विभिन्न सङ्घ, संस्था, विद्यालयसँग सहकार्य गरी गाउँगाउँमा आफ्नो कार्यक्रम विस्तार गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!