विराटनगर, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानूनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशको अधिकार खोस्ने कार्य सङ्घीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पार्नुभयो । अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले सिके राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११ बुँदे सम्झौतामाथि शङ्का नगर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । पार्टी अध्यक्ष दाहालले वर्तमान सरकारले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीसँग आज बिहान पार्टी एकतालाई अन्तिम रुप दिन बालुवाटरमा छलफल भएको बताउँदै उहाँले आगामी एक/दुई दिनभित्र यसको टुङ्गो लाग्ने जानकारी दिनुभयो । नेकपाका दुई अध्यक्षबीचको समदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “हामीबीच कुनै विवाद छैन, समझादारीमा पार्टी अघि बढेको छ ।” पाँचाँै साफ महिला फुटबल प्रतियोगिता उद्घाटन गर्न उहाँ आज यहाँ आउनुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!