संगालोखबर सम्वाददाता

विराटनगर, २६ फागुन । नोबेल शिक्षण अस्पतालले मुखबाट ईण्डोस्कोप छिराएर एकै दिन १४ जना बिरामीको पित्त नलीको ढुंगा निकाली नयाँ रेकर्ड कायम गरेको छ । ईआरसीपी बिधि मार्फत बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकालिएको नोबेल अस्पतालले जनाएको छ ।

Advertisement

एकै दिन हालसम्मकै ठुलो संख्यामा सफलतापूर्वक ईआरसीपी गरेर नयाँ रेकर्ड कायम गरिएको अस्पतालको दावी छ । नेपालमै पहिलो पटक एकै दिन यत्ती धेरै बिरामीको ईआरसीपी गरिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । ‘नेपालमा हालसम्म एकै दिन यत्ती धेरै संख्यामा सफलतापूर्वक ईआरसीपी गरिएको छैन ।’ उनी भन्छन् ‘यो नेपालकै नयाँ रेकर्ड हो ।’

यसअघि धुलीखेल अस्पतालले एकै दिन ११ वटा ईआरसीपी गरेको बताईएको छ । त्यसयता नोबेलले यो नयाँ रेकर्ड बनाएको डा.यादवको दावी छ । वीर अस्पतालमा कार्यरत ग्यास्ट्रो ईनटेरोलोजीष्ट डा.विवेक कुमार पुर्वेले पनि यो नयाँ रेकर्ड भएको स्वीकार गरे । यसअघि एकै दिन अधिकतम ११ वटा मात्र ईआरसीपीको रेकर्ड रहेको डा.पुर्वेले बताए । ‘एकै दिन १४ जनाको सफलतापूर्वक ईआरसीपी गर्नु नेपालमै पहिलो रेकर्ड हो ।’ उनले भने ।

नोबेलले पूर्वी नेपालमै पहिलो पटक गत पुस महिनाबाट ईआरसीपी सुरु गरेको हो । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा सहज रुपमा निकाल्ने गरिन्छ । ढुंगालाई मुखबाटै वा आन्द्रामा लगेर छोडी दिसाको माध्यमबाट बाहिर निकाल्ने गरिन्छ । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकालिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्दा धेरै सहज हुँने बिरामीहरु बताउँछन् ।

यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुने लगायत समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

तर, ईआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर निकालिने हुँनाले बिरामीलाई खासै असर पर्दैन । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुँने चिकित्सकहरुको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!