धनकुटा, २६ फागुन । कुनै समय धनकुटाको मात्र नभएर पूर्वाञ्चलकै शिक्षा विषयसँगै अन्य विषयका लागि शैक्षिक केन्द्रको रूपमा रहेको धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या वर्षेनी घट्दै गएको छ ।

Advertisement

कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यसवर्ष एक जना पनि विद्यार्थी भर्ना भएनन् ।

व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नै नहुँदा मनग्य पूर्वाधार र श्रोत साधन भएपनि धनकुटा बहुमुखी क्याम्पसप्रति विद्यार्थी र अभिभावकको लगाव घट्दै गएको हो ।

धनकुटा बहुमुखी क्याम्पसमा स्नातक तहको विज्ञान शंकायमा पहिलो वर्षका लागि प्रवेश परीक्षासमेत उत्तीर्ण गरेका चारमध्ये एक जना विद्यार्थीले पनि यहाँ नाम लेखाएनन् ।

स्नातक तहकै दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत १८–२० जनामध्ये आधाभन्दा बढी विद्यार्थीले नियमित कक्षा नै लिँदैनन् ।

क्यानडा सरकारको सहयोगमा सञ्चालित सामुदायिक चिकित्सा कक्षा बन्द भएपछि विकल्पको रूपमा २० वर्षअघि शुरू गरिएको विज्ञान शंकायको पढाइ पनि विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको छ ।

चिकित्सा शिक्षाको पढाई हुन छाडेको ४ वर्ष पछि २०५४ सालमा चिकित्सा शिक्षा अध्ययन संस्थाले आर्ईएसी कक्षा सञ्चालन गर्ने सर्तमा धनकुटा बहुमुखी क्याम्पसलाई जिम्मा लगाएको क्याम्पसका दर्जनौँ भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन र फर्निचर सामग्री नासिदै गएका छन् ।

क्यापस प्रशासन र सम्बन्धित निकायले व्यवस्थापन पक्षमा ध्यान नदिँदा विद्यार्थीहरूलाई समेत समस्या भएको विद्याथीको गुनासो छ ।

कक्षा ११ र १२ मा विज्ञान कक्षा सञ्चालित सरकारी स्वामित्वका जिल्लामा तीनवटा विद्यालय छन् । ती विद्यालयहरूमा पनि विगत वर्षका तुलनामा विद्यार्थी भर्ना र उत्तीर्ण सङ्ख्या ह्वात्तै घटेको छ ।

विज्ञान विषयमा कक्षा ११–१२ मै विद्यार्थी भर्ना र उत्तीर्ण सङ्ख्या कम हुने तथा उत्तीर्ण भएका विद्यार्थीको स्नातक तह पठनपाठनको रोजाइमा पनि यो क्याम्पस पर्न छाडेपछि कक्षाकोठा खाली हुने अवस्था आएको हो । यस वर्ष प्रवेश परिक्षमा समेत भई उर्तिण भएका विद्यार्थीले समेत यस क्यापसमा नाम नलेखाएको प्रशासनको भनाई छ ।

विज्ञान शंकायमा मात्र नभई यो क्याम्पसको अरू शंकायमा पनि विद्यार्थी निकै कम मात्र भर्ना हुने गरेका छन् । प्रचार–प्रसारमा भने क्याम्पसको शैक्षिक गुणस्तर सुधारको मुद्दालाई चर्को रूपमा उठाउने गरिएको छ । तर व्यवस्थापन पक्षले शैक्षिक गुणस्तर सुधार्न व्यवहारमा भने कुनै ठोस कार्यक्रम सञ्चालन नै गरेको छैन ।

२०६२-०६३ सालसम्म शिक्षा, मानविकी र विज्ञान शंकायमा यहाँ चार हजार पाँच सय विद्यार्थी अध्ययन गर्थे तर अहिले यस क्यापसमा अध्यापन गराउने अधिकांश प्राध्यापक अन्य निजी क्याम्पस र आफूले सञ्चालन गरेका क्याम्पसमा अधिकांश समय दिने र आय स्तर राम्रो भएका साथै नेता र ठुला बडाका छोरा छोरी नपढ्ने भएकोले समेत व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नै हुन सकेको छैन ।

त्यसले गर्दा कुनै समय चार हजार भन्दा माथि विद्यार्थी सङ्ख्या हुने यस क्यापसमा अहिले घटेर एक हजार चार सयमा सीमित भएको छ । त्यसले गर्दा क्यापसमा समय नदिई निजी कलेज धाउने प्राध्यापक लाई नियम अनुसार कारबाही र क्याम्पसको शैक्षिक गुणस्तर सुधार र व्यवस्थापकीय पक्ष लाई चुस्त दुरुस्त नराख्ने हो भने यो क्याम्पस पनि एकादेशको कथा नहोला भन्न सकिन्न ।

न्यूज २४

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!