फिदिम, २२ फागुन । पाँचथरको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणका क्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती लगाउन नपाएका हुन् ।

Advertisement

उक्त सडकको ट्र्याक खोल्ने क्रममा माझीटारमा सिँचाइका लागि ल्याइएको कुलो यहाँको कोप्चेविमिरे क्षेत्रमा भत्किएको छ । कुलो भत्किएपछि दुई वर्षदेखि माझी समुदाय बाँझो खेत हेरेर बस्न विवश छन् । तमोर नदी र हेवा खोलाको बीचमा रहेको यहाँ सिँचाइको वैकल्पिक प्रबन्ध हुन सकेको छैन ।

बाइस माझी परिवारले खेती लगाउने जमीन उनीहरूको आफ्नै होइन । यहाँ तीन याम खेती हुने गरेको थियो । प्रत्येक याममा यहाँ करीब २५० मुरी धान फल्दथ्यो । यही खेतनै माझीको गुजाराको माध्यम थियो । यो खेत जिल्लाको नवमीडाँडाका आङ्देम्बे परिवारको जमीन हो ।

आफूसँग पाखोबारी मात्रै भएका माझी समुदाय पुस्तौँदेखि अधियाँ र कुतमा उक्त खेतमा खेती लगाई जीविका चलाउँदै आएका थिए तर सडक निर्माणका क्रममा माझी कृषकद्वारा पुनःनिर्माण गर्नै नसक्ने गरी कुलो भत्काइएपछि जीविकोपार्जनमा गम्भीर समस्या आएको माझी समुदायका अगुवा जसबहादुर माझीको भनाइ छ । “मेरो मात्रै ६० मुरी धान फल्ने खेतमा ढुङ्गा मात्रै थुप्रिएका छन् । अलिअलि भएको आफ्नो बारीसमेत भत्कियो”, जसबहादुरले भन्नुभयो, “विकासले अरुलाई सुख र खुशी दियो तर, हामीलाई पीडा र अभाव थोपर्याे ।”

माझीटारकै ममिता माझी आफूहरूको पीडा सुन्ने कोही नभएको दुःखेसो पोख्नुुहुुन्छ । “हामीले यही खेतबाट बच्चा पालेका थियौँ, परिवार चलाएका थियौँ” ममिताले भन्नुभयो, “पुख्र्यौली पेशा सङ्कटमा परेपछि खेती मात्रै हाम्रो विकल्प थियो, अब खेतसमेत बाँझियो, हामीले कसरी गुजारा चलाउने ?” अधिकांश माझी परिवार अहिले खेतीपातीमा जोडिएका थिए ।

सङ्कटमा पुख्र्यौली पेशा

विगतमा डुङ्गा खियाएर बराबर पैसा बाँड्ने, माछा मारेर बजारमा बिक्री गरी गुजारा चलाउने माझी समुदायका परम्परागत पेशा थियो । पाँचथर र तेह्रथुमको आठराई क्षेत्र जोड्न यहाँ तमोर नदीमा दुई दशकअघि पुल बनेपछि डुङ्गा खियाउने पेशाको अन्त्य भयो । त्यसपछि माछा मार्ने र बिक्री गर्ने उनीहरूको पेशा बन्यो तर पछिल्लो पटक जलविद्युत् आयोजनाको निर्माण र विद्युत्बाट माछा मार्ने परम्पराले यहाँको माछा क्रमशः मासिँदै गएको स्थानीय मङ्गलबहादुर माझीको भनाइ छ । अन्य समुदायले समेत माछा मार्न थालेपछि माझीको यो पेशासमेत सङ्कटमा पर्दै गएको छ । यहाँको माछा देश विदेशमा समेत चर्चित भए पनि माछाको घट्दो अवस्थाले उनीहरूमा चिन्ता थपेको छ ।

विद्युत्को सहायताले माछा मार्ने तथा जलविद्युत् उत्पादनका क्रममा पानीमा मिसिएको रासायनिक पदार्थले माछा मासिँदै गएको उनीहरूको भनाइ छ । पछिल्लो सयम खेती र पशुपालनबाट गुजारा चलाइरहेका माझी परिवार अब कसरी परिवार धान्ने भन्ने चिन्तामा छन् । सडक निर्माणकै क्रममा फिदिम नगरपालिकातर्फ खेती गर्ने करीब एक दर्जन माझी परिवारको खेतसमेत बाँझिने अवस्था आएको स्थानीयको भनाइ छ ।

‘गाँउपालिकाको बजेटको प्रतिफल लिन पाएनौँ’

हिलिहाङतर्फ सिँचाइको प्रबन्ध गर्ने कुलो बाढीले बगाएपछि गाउँपालिकाले रु तीन लाख बजेट नै छुट्याएर कुलो पुनःनिर्माण भएको थियो तर पुनःनिर्मित कुलोबाट सिँचाइ गर्नै नपाई सडकले उक्त कुलो भत्काएको ममिताको भनाइ छ । “गाउँपालिकाले हाम्रो दुःख बुझिदियो, तर रु तीन लाखको कुनै प्रतिफल लिन पाइएन”, उहाँले भन्नुभयो ।

खेती गर्न नपाएपछि स्थानीय तहदेखि प्रशासनसम्म गुहारे पनि कसैले समस्या समाधानको ठोस प्रयत्न नगरिदिएको जसबहादुरको भनाइ छ । “जग्गा हाम्रो नभएकै कारण सडक निर्माण गरिरहेका ठेकेदारले हाम्रो कुरा सुन्दैनन्”, जसबहादुरले भन्नुभयो, “जग्गा धनीलाई कुनै क्षतिपूर्ति दिएको भए हामी जान्दैनौँ ।”

जीविकोपार्जनका लागि परम्परागत डुङ्गा बनाइँदै

माझी समुदायलाई जीविकोपार्जनमा समस्या परेपछि नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति महासङ्घ फिदिम नगर परिषद्ले आम्दानीको वैकल्पिक माध्यम सिर्जना गर्ने तयारी गरेको छ । माझी समुदायको पहिचान तथा पर्यटकबाट आम्दानी लिन यहाँ तमोर नदीमा परम्परागत डुङ्गा (नाउ) सञ्चालनको तयारी गरिएको हो । परिषद्का अध्यक्ष जलकुमार तामाङका अनुसार रु ७५ हजार बजेटमा काठको डुङ्गा सञ्चालनमा ल्याउन लागिएको हो ।

विगतमा नदी पार गर्न अनिवार्य रहेको डुङ्गालाई अब भने माझी समुदायको पहिचान स्थापित गर्न तथा पर्यटकबाट आम्दानी लिने माध्यमको रूपमा अघि बढाउन लागिएको हो । “यहाँ बाह्रै महीना आन्तरिक पर्यटकको भीड लाग्छ । परम्परागत डुङ्गामा रमाउने अवश्य पनि प्रशस्तै हुनुपर्ने हो”, माझी अगुवा जसबहादुर भन्नुभयो । माझी समुदायले सिमलको रुखबाट परम्परागत डुङ्गा बनाउन लागेका हुन् । डुङ्गा सञ्चालनबाट प्राप्त आम्दानी समुदायलाई समानुपातिक रूपमा वितरण गर्ने तयारी गरिएको परिषद्का अध्यक्ष तामाङको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!