गलकोट, २२ फागुन । बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थाल्नुभएको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उहाँहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।
नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्कनुभएका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गर्नुभएको हो । उहाँहरुले पाँच महीनाअघि सो व्यवसायको शुरुआत गर्नुभएको हो । “पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दासमेत सन्तुष्ट हुन सकिएन”, सापकोटाले भन्नुभयो, “विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने इच्छाले गाउँमै कुखुरापालन थालेँ ।”
अर्का व्यवसायी केसीले आफ्नै देशमा मालिक र कामदार आफैँ बन्ने रहर जागेर स्वदेश फर्केको बताउनुभयो । “स्वदेशमै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर व्यवसाय गर्न आएँ”, उहाँले भन्नुभयो । फार्ममा अहिले दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ ।
“लगानी थप्दै गएका छौँ”, सापकोटाले भन्नुभयो, “दैनिक पाँच हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ ।” उहाँहरुको दैनिकी अहिले कुखुरालाई दानापानी दिन र हेरचाहमै बित्ने गरेको छ । बजारीकरण गर्न रु ३५ लाखमा जीप खरीद गरिएको उहाँले बताउनुभयो ।
उत्पादित अण्डा बागलुङ बजार, कुश्मा, म्याग्दी तथा गलकोट लगेर बिक्री गरिन्छ । उहाँहरुले एक रोपनी जग्गा आफ्नै तथा एक रोपनी भाडामा लिई कुखुरापालन गर्दै आउनुभएको हो । “जग्गाको भाडा वार्षिक रु २५ हजार तिर्ने गरेका छौँ”, सापकोटाले भन्नुभयो ।