ताप्लेजुङ, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा पर्ने सिस्ने खोलामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो ।
‘घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ’, उनले भने, ‘दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।’ दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पनि पुष्टि गरेका छन् ।
क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष, यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक, नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी