दमौली, १३ फागुन । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ को रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।

Advertisement

सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दैछ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन, सवारीसाधनबाट करीब २५/३० मिनेटमै पुग्न सक्ने भएको छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा अलैचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । केन्द्र सरकारको दश करोड बजेटबाट सडक कालोपत्र गर्न बाटो निर्माणको काम थालिएको हो ।

मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको छ । दमौली बजार र हिमालका शृङ्खलाहरु मनमोहक देखिने भएकाले आफू बेला–बेलामा यहाँ आउने गरेको बताउनुहुन्छ व्यास नगरपालिका–१ का शैलेश हड्खले ।

उहाँ भन्नुहुन्छ – “मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ । दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्द लाग्छ ।”

जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने बताउनुहुन्छ रिसिङ गाउँपालिका–१ की बसन्ती आले । उहाँका अनुसार मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ ।

विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल समेत रहेको बताउनुहुन्छ व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ । दृश्यावलोकनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार हुन सकेकै कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको श्रेष्ठले बताउनुभयो ।

व्यास नगरपालिका–५ र म्याग्दे गाउँपालिका–१ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र हो । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो ।

मानहुँकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको बताउनुहुन्छ स्थानीय गोपीराम थापा ।

मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ ।

समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र विदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ । नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको बताउनुहुन्छ नगर प्रमुख बैकुण्ठ न्यौपाने ।

उहाँका अनुसार मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि भ्युटावर बनाउने तयारी गरिएको छ । यसका लागि नगरपालिकाले ३० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।

भ्युटावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यको साथै फाँटहरू सजिलै देख्न सकिन्छ । नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।

खानेपानी प्रमुख समस्या

मानहुँकोटको मुख्य समस्या भनेको खानेपानीको हो । खानेपानीको अभावले गर्दा यहाँको पर्यटन विकासमा बाधा पुगेको महशुस गरिएको स्थानीय रेवती आलेमगरले बताउनुभयो ।

यहाँका स्थानीय बासिन्दालाई खानेपानीको जोहो गर्न बिहानैदेखि एक घण्टा हिँड्नुपर्ने बाध्यता छ । खानेपानीकै समस्याका कारण यहाँका केही स्थानीय बासिन्दाले आफ्नो थातथलो समेत छोडिसकेका छन् ।

नगरपालिकाले भने मानहुँकोटमा लिफ्ट प्रविधि मार्फत् खानेपानी योजना सञ्चालन गर्न लागिएको जनाएको छ । नगर प्रमुख न्यौपाने भन्नुहुन्छ – “धारापानीमा ट्याङ्की निर्माण गरेर पानी सङ्कलन गरी लिफ्ट प्रणालीबाट पानीको व्यवस्था गर्ने तयारी थालेका छौ ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!