
भोजपुर, १२ फागुन । जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका ६५१ वटा घरको पुनः निर्माण सम्पन्न भएको छ ।
लाभग्राही सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म ६५१ जनाले घर निर्माण कार्य सम्पन्न गरी तेस्रो किस्ता बापतको भुक्तानी लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
त्यस्तैगरी पाँच हजार १४१ ले पहिलो र तीन हजार ५२५ ले दोस्रो किस्ताको रकम लिएको कार्यालयले जनाएको छ । प्रबलीकरणतर्फ परेको ४५३ निवेदनमध्ये २१२ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायब सुब्बा हरिकृष्ण दाहालले जानकारी दिनुभयो ।
कार्यालयले स्थानीय तहबाट आएका सम्पूर्ण सिफारिशलाई भुक्तानीका लागि बैंकमा पठाएको जनाएको छ । साथै दोहोरो नाम परेका, पीडित मृत्यु भएका लगायत अन्य विभिन्न विषयमा आएका निवदेनलाई सच्याउनका लागि केन्द्रमा पठाइएको छ ।
पछिल्लो समयमा पीडितका घर निर्माणको कार्यले तीव्र गीत पाएको पनि कार्यालयको भनाइ छ । लाभग्राही सूचीमा परेकामध्ये पाँच हजार १६७ पीडितले सम्झौता गरेका थिए ।















