काठमाडौँ, ८ फागुन । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ ।

सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको सङ्ख्यामा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको ६ महीनामा विदेशी लगानीका २६६ उद्योगले नेपालमा कामका लागि स्वीकृति लिएकामा यस वर्षको ६ महीनामा भने २९३ उद्योगले उद्योग सञ्चालनका लागि निवेदन दिएका छन् । उद्योग दर्ताका लागि अनुमति माग्नेमा पर्यटन क्षेत्रका उद्योग बढी छन् । पर्यटन क्षेत्रमा मात्र ८६ उद्योग छन् । गत वर्षको ६ महिनामा पर्यटन क्षेत्रमा ७७ उद्योगले सञ्चालनका लागि अनुमति लिएका थिए ।

यस्तै कृषि तथा वन क्षेत्रमा १४, निर्माण तीन, उर्जामूलक १९, सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ११, उत्पादनमुलक ७८, खनिज एक, र सेवामूलक ८१ उद्योग रहेका छन् । सबै उद्योग सञ्चालन भएमा १५ हजार २७० जनाले रोजगार पाउनेछन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा)का महासचिव रमेश थापा स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको बताउनुहुन्छ । “नेपाल प्राकृतिक दृष्टिकोण र पर्यटकीय महत्वका केन्द्र बढी भएको कारण पनि पर्यटन क्षेत्रमा उद्योगको सङ्ख्यामा वृद्धि भएको हो”, उहाँ भन्नुहुन्छ ।

नेपालको पर्यटन व्यवसाय पहिलेको तुलनामा क्रमिक रुपमा बढ्दै गएको र सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई पूरा गर्न पनि होटल तथा रेष्टुरेन्टमा विदेशी लगानी भित्रिएको उहाँको भनाइ छ ।

पर्यटन क्षेत्रमा चालू आर्थिक वर्षमा रु ६८ करोड ७७ लाख ३६ हजारको ८६ उद्योगका लागि लगानी भित्रिएको हो । उक्त रकम गत वर्षको लगानीभन्दा धेरै कम हो । गत वर्ष रु एक अर्ब १८ करोड ७४ लाख ४५ हजार बराबरको लगानी भित्रिएको थियो ।

गत वर्षको छ महीनामा पर्यटन उद्योगबाट तीन हजार २५ ले प्रतक्ष्य रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षमा उद्योगको सङ्ख्यामा वृद्धि भए पनि कम लगानीका उद्योग भएकाले दुई हजार ५०२ जनाले प्रत्यक्ष रोजगार पाउने उद्योग विभागले जनाएको छ ।

उद्योग विभागका सूचना अधिकारी जीवनराज सेढाईं उद्योग क्षेत्र बढ्नु मुलुकको विकासका लागि सकारात्मक कुरा भएको बताउनुहुन्छ । “उद्योग बढेसँगै मुलुकमा रोजगारीको वातावरण सिर्जना हुनुका साथै अधिकांश सामान मुलुकमा नै बन्ने भएकाले मुलुकलाई फाइदा पुग्छ”, उहाँ भन्नुहुन्छ ।

ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ ।

विभागले रु १० करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि रु २५ करोडसम्म लगानी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आइरहेको छ । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र साना तथा घरेलु उद्योग विभागबाट दर्ता हुँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!