विराटनगर, २३ माघ । ‘प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो ।

Advertisement

‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्रस्तुत भयो । मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो ।

मन्त्री कार्कीले प्रदेश नं १ मा विद्युत् उत्पादन, वितरण, वातावरण र स्थानीयस्तरमा दिन सकिने क्षतिपूर्तिलाई व्यवस्थित गर्न सो विधेयक लाभदायी हुने बताउनुभयो । उहाँले ‘झोलामा खोला’ प्रवृत्तिलाई निरुत्साहित गर्न बन्ने यो विधेयकले विद्युत् उत्पादन कम्पनी, कर्मचारी र जनताका हितमा रहनेमा जोड दिनुभयो । सो विधेयकमाथि प्रदेशसभा सदस्य खिनु लाम्वा लिम्बू, धीरेन शर्मा, राजकुमार ओझा, शिवनारायण गनगार्इं र लक्ष्मण तिवारीले सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो ।

शून्य समय

बैठकमा शून्य समयमा प्रदेशसभाका सदस्य मोहनबहादुर खड्काले विद्युत् उत्पादनसम्बन्धी बन्ने विधेयकले प्राकृतिक स्रोत र साधनको दोहन गर्नबाट रोक्ने खालको हुनुपर्ने बताउनुभयो । सदस्य वसन्तीदेवी यादवले अपराधका घटनालाई रोक्न लागुपदार्थको ओसारपसारमा पूर्णरुपमा नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।

सदस्य विन्दिया कार्कीले टिपरबाट हुने दुर्घटनालाई न्यून गर्न रातको समयमा मात्र टिपर चलाउन दिनुपर्ने प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य सञ्जयकुमारी दनुवारले समानुपातिक सांसदको अधिकारलाई सुरक्षित गर्न संसदीय कोष बन्नुपर्ने धारणा राख्नुभयो । सदस्य सूर्यमाराज राईले जनताका मतबाट बनेका हामी जनप्रतिनिधिको समस्यामा प्रदेश सरकारले ध्यान दिनुपर्ने भन्दै जङ्गल क्षेत्रमा अनाधिकृत रुपमा भइरहेको नदीको दोहन रोक्न प्रहरी प्रशासनबाट सहयोग नमिलेको गुनासो गर्नुभयो ।

विशेष समय

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले बनाउन लागको प्रदेशस्तरीय विश्वविद्यालयमा सबै जाति, धर्म, लिङ्ग र भाषिकको अपनत्व ग्रहण गर्ने किसिमको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा स्थिरता कायम गर्नुपर्ने, भ्रष्टाचारी र बलात्कारीलाई कारवाही हुनुपर्ने तथा जनतालाई महँगीको मारबाट जोगाउनुपर्ने धारणा राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही माघ २४ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!