खोटाङ, २३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ ।
जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो ।
जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारको घटना न्यूनीकरण गर्न विद्यालयमा सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।
“विद्यार्थीलाई सहभागी गराएर यौनजन्य हिंसा र न्यूनीकरणका बारेमा जानकारी गराइन्छ”, उहाँले भन्नुभयो, “अभियानले उनीहरु र उनीहरुका परिवारमा हुनसक्ने घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।”
अभियानका क्रममा महिला तथा लैङ्गिक हिंसा, यौन दुव्र्यवहार र बलात्कार घटनाका साथै साइवर क्राइमका बारेमा विद्यार्थीलाई सचेतना अभिवृद्धि गराइने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । “कुनै व्यक्तिले शुरुमा बोलाउने, त्यसपछि म्यासेज पठाउने, अनि नजिक आउन थाल्छ भने उसको नियत खराब छ भन्ने बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “शुरुमै प्रतिकार गरे अपराधको बाटो बन्द हुन्छ । तपाईहरुलाई यदि कसैले त्यस्तो व्यवहार गर्दै छ भने, गलत नियत भन्ने बुझ्नुहोस् र सचेत रहनुहोस् ।”
प्रनाउ केसीले गत साउनदेखि हालसम्म जिल्लामा १९ वटा यौनजन्य हिंसाका घटना भएकामा १७ वटा घटना चिनजानका र आफन्तबाटै भएको उजुरी प्रहरीमा दर्ता भएको जानकारी दिनुभएको छ ।
जो कोहीलाई भेट्ने नाममा एकान्तमा एक्लै नजान र अपरिचितको फोन आएमा नबोल्न प्रनाउ केसीले सबैलाई आग्रह गर्नुभएको छ ।
जिल्लामा महिला हिंसा, यौन दुव्र्यवहार र बलात्कारका घटना दिनानुदिन वृद्धि हुँदै गएकाले प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आएको हो ।
प्रविधिको विकाससँगसँगै समाजमा नराम्रा गतिविधि भइरहेकाले प्रहरीले सञ्चालन गरेको यो अभियान अत्यन्तै उपयोगी भएको प्रधानाध्यापकले बताएका छन् । प्रहरीले सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा अहिलेसम्म जिल्लाका २२ वटा विद्यालयमा पुगेर सचेतना अभियान सञ्चालन गरिसकेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतना अभियानसँगै हरेक शुक्रबार सरसफाई तथा सामाजिक कामलाई पनि सहयोग गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयसँगै चारवटै इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहभागी भएर पर्यटकीयस्थल तथा मठ मन्दिर, सार्वजनिकस्थल लगायतको सरसफाइमा जुटेको हो ।