धनकुटा, २२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बहुमतको दम्भका आधारमा सरकार तानाशाही बन्दै गएको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकाल लोकतान्त्रिक चरित्रमा अघि नबढेको आरोप लगाउँदै नेता सिटौलाले त्यही कारण खबरदारी गर्नुपर्ने परिस्थिति बनेको बताए ।
पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा आएका नेता सिटौलाले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । कांग्रेस पूर्व महामन्त्रीसमेत रहेका सिटौलाले पार्टी कमजोर हुँदा सरकार अलोकतान्त्रिक हुन थालेको बताए ।
सरकारले जनहित विपरित धमाधम निर्णयहरु गर्दै आएकाले लोकतान्त्रिक मार्गमा ल्याउन कांग्रेस सडकमा उत्रनुपरेको प्रष्ट पारे । बोल्ने क्रममा सरकारको विरोधमा अधिकांश समय खर्चिएका नेता सिटौलाले सरकारले दृष्टि गुमाएकाले दृष्टि फर्काउन कांग्रेसले प्रयास गरेको बताए ।
‘हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं ।’, उनले भने, ‘दुई तिहाइको दम्भ नदेखाई सरकार लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ ।’