विराटनगर, २० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भयो ।

Advertisement

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक दलका प्रतिनिधिले प्रदेश नं १ को राजधानी र नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेमा जनतामा अविश्वास बढ्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले विकास निर्माणमा गति लिन नसकेकामा चिन्ता गर्दै प्रतिपक्षलाई वास्ता नगरीकन अघि बढे समस्या हुनेछ भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता टङ्क आङ्बोहाङले प्रदेश सरकार प्राविधिक कारणले चाहेअनुसार काम गर्न नसकेका भए पनि सरकार प्रतिपक्षलाई सबै कुरामा सहमति लिएर नै अघि बढिरहेको चर्चा गर्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेशको राजधानी र नामकरण यसै अधिवेशनबाट टुङ्गो लगाउनुपर्ने माग गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मञ्चका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले जनताका पक्षमा सबैलाई खुशी पार्न प्रदेश सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिर राईले देश अन्योलतातर्फ लम्किरहेकाले सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

यसैगरी कार्य व्यवस्था परामर्श समितिमा सदस्य रहनुभएका मोहनबहादुर खड्काको स्थानमा नेकपा संसदीय दलका सचेतक सीता थेवेलाई सदस्य कायम गरिएको सम्बन्धी पत्र सभामुख भण्डारीले पढेर सुनाउनुभयो । प्रदेशसभाको अर्को बैठक माघ २३ गते अपराह्न २ बजे बस्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!