संगालोखबर सम्वाददाता

विराटनगर, १३ माघ । गाला भित्र निस्किएको ट्यूमर बढ्दै गएर घाउमा किरा पर्दासमेत उपचार गर्न नसकी पीडाले तड्पिन बाध्य थिए मोरङको पथरीशनिश्चरेका चन्द्रबहादुर राई । पैसा नभएकै कारण उपचार गर्न नसक्दा थलिएर मृत्युको मुखमा पुगेका ४४ बर्षीय राईका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा ‘भगवान’ सरह बने । घाउमा स्याँउस्याँउती किरा परेर दुर्गन्धित भई छेउछाउमा मान्छे जानै छोडिसकेका बेला डा.शर्मा बेसहारा राईको पीडामा मलम लगाउन पुगे ।

Advertisement

छोराछोरी र श्रीमतीलेसमेत माया मारेर छोडिसकेका राईलाई डा.शर्माले उद्धार गरी सम्पूर्ण खर्च बेहोरेर अहिले नोबेल अस्पतालमा उपचार गराईरहेका छन् । ‘बाँच्छु भन्ने आशा थिएन । यत्तिकै कुहिएर मर्छु भनेर हरेस खाईसकेको थिए ।’ पीडा सुनाउँदै उनी भन्छन् ‘नसोचेको साथ मिल्यो । सुनिल सर मेरा लागि भगवान बन्नुभयो । अब बाँच्ने आशा जागेको छ ।’

चन्द्रबहादुरको जस्तै दर्दनाक अवस्थामा तड्पिरहेका सुन्दरहरैचाका प्रकाश पौडेलको पीडा पनि कम छैन । थोत्रे काटुन र पानीको वोतल भेला गरेर बिक्रि गरी जिविका चलाउँदै आएका पौडेलको अनुहारसहित हात, खुट्टामा घाउ निस्किएर बढ्दै गई स्याँउस्याँउ किरा परे ।

उपचार गर्न र पीडा सहन दुबै नसक्दा बिस खाएर मर्ने योजना बनाईसकेका पौडेललाई डा.सुनिल शर्माले साथ दिएपछि अहिले उनमा नयाँ उमंग पलाएको छ । ‘नर्कमा थिए, अहिले स्वर्गमा आईपुगे जस्तो भएको छ । मलाई बचाउँने सुनिल सरलाई भगवान मान्छु ।’ उनले भने ।

७ बर्षको हुँदा आतंकवादी समुहले आँखै अगाडी वावु–आमा र भाईको हत्या गरेपछि टुहुरो बनेका ३५ बर्षीय पौडेल दुई छाक टार्न संघर्ष गर्दै आए । तर, घाउको पीडाका कारण काम गर्न नसकेपछि सडकमा मागेर खाँदै आएका उनलाई डा.शर्माले उठाएर निःशुल्क उपचारका लागि नोबेल ल्याएका हुन् ।

चन्द्रबहादुर र प्रकाश मात्र हैन उनीहरु जस्ता हजारौं विपन्न र बेसहारा बिरामीलाई डा.शर्माले खोजी–खोजी निःशुल्क उपचार गर्दै आएका छन् । आपतमा परेका बिरामीको खोजिका लागि दैनिक रुपमा मोरङका गाउँ–गाउँ पुग्दै आएका डा.शर्माले हजारौं बिरामीलाई सम्पूर्ण खर्च बेहोरेर निःशुल्क उपचार गरिसकेका छन् । अति विपन्न बिरामीलाई डा.शर्माले अस्पताल ल्याएर औषधि, उपचारसँगै खाना, खाजा पनि उपलब्ध गराई निको भएपछि पुनः घरमै पुर्याईदिने गरेका छन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसको तर्फबाट उम्मेदवारसमेत रहेका समाजसेवी डा.शर्माले चुनाव अघि देखिनै यो अभियानलाई जारी राखेका हुन् । ‘समस्यामा परेका बेला सहयोग गर्नु मानवीय कर्तव्य हो ।’ डा.शर्मा भन्छन् ‘मैले सकुञ्जेल र बाँचुञ्जेलसम्म यो अभियान रोकिदैन ।’ राजनीतिभन्दा माथि उठेर समाजसेवामा सक्रिय डा.शर्माले पार्टी र क्षेत्र भन्दा पनि बिरामीको आर्थिक अवस्था मूल्यांकन गरेर सहयोग गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!