चितवन, १० माघ । नवलपुरको गैँडाकोटमा तातो तेल पोखिएर घाइते भएकी बालिकाको चितवन मेडिकल कलेजले निःशुल्क उपचार गर्ने भएको छ । माघे सङ्क्रान्तिका दिन आमा विष्णुमाया पौडेलले ठेलामा मःमः तार्दै गर्दा तेल पोखिएर उहाँकी २२ महीनाकी छोरी सिम्रन पौडेल सख्त घाइते भएकी थिइन् ।
बालिकाको टाउको र शरीरमा तेलले पोलेको थियो । गैँडाकोटमा डेरा गरी बस्दै आएका सिम्रनका बुवा कृष्ण पौडेल र आमा विष्णुमायाको आर्थिक अवस्थालाई दृष्टिगत गरी अस्पतालले उपचार निःशुल्क गरेको हो ।
सिम्रनको उपचारका लागि अस्पतालमा भएका सम्पूर्ण सेवा निःशुल्क गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले बताउनुभयो । बालिकाको उपचारका लागि औषधिबाहेकको सबै सेवा अस्पतालले निःशुल्क गरेको छ । उहाँले करीब डेढ महीना उपचार गर्न लाग्ने बताउनुभयो ।
उपचारमा रु छ/सात लाख लाग्ने अनुमान भएको तर सामाजिक सञ्जाल प्रयोग गरेर बालिकाको उपचारका लागि सहयोग जुटाउनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
स्थानीय कालिका एफएम र टेलिभिजनले सन्देश प्रवाह गरी औषधिका लागि रकम जुटाइदिएको छ । कालिका एफएमका स्टेशन म्यानेजर प्रकाश आचार्यले बालिकाको औषधिका लागि रु एक लाख ३० हजार ७८८ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरेको बताउनुभयो । औषधिमा खासै खर्च नभएकाले सो रकमले पुग्ने आचार्यको भनाइ थियो ।
उक्त कलेजका प्लाष्टिक सर्जन डा बुद्धिनाथ अधिकारीको टोलीले उपचार गरिरहेको छ । बालिकाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । ।