भद्रपुर, ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’

Advertisement

किरात याक्थुङ चुम्लुङ मेचीनगरका उपाध्यक्ष धनप्रसाद केरुङले लिम्बू भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आफ्नै घरमा प्रत्येक हप्ताको शनिबार लिम्बू भाषासम्बन्धी कक्षा सञ्चालन गर्दै आएका छन् । त्यहीँ लिम्बू भाषा पढ्न आएकी मेचीनगर–६ आदर्श माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उमाले बोर्डमा लेखिएका ती शब्द कापीमा सार्दै भन्नुभयो,“बोल्न त आउँदैन, लेख्न पूरै आउँछ, सिक्दैछु ।”

गत वैशाखदेखि पठनपाठन शुरु गरिएको लिम्बू भाषासम्बन्धी कक्षामा लिम्बू जाति मात्र नभई क्षेत्री, मगर, श्रेष्ठलगायतका जातिका विद्यार्थीसमेत सक्रिय रुपमा सहभागी भई लिम्बू भाषा सिक्न थालेका छन् ।

मेचीनगर वडा नं ६ र ७ का ६ देखि ३५ वर्ष उमेर समूहका विद्यार्थी निःशुल्क रुपमा पढ्दै आएका कक्षामा विद्यार्थी सङ्ख्या हप्तैपिच्छे बढ्ने गरेको केरुङले बताउनुभयो । बिहान ७ देखि ८ बजेसम्म सञ्चालन हुने कक्षामा २५ जना विद्यार्थी अध्ययनरत् छन् ।

लिम्बू जातिको भाषा र लिपी जोगाउन युवा पुस्तालाई आफ्नो भाषा सिकाइरहेको बताउँदै केरुङ भन्नुहुन्छ, “हाम्रो भाषा, लिपी, संस्कार र संस्कृति लोप हुन लाग्यो, यसलाई जीवन्त राख्न, आफूले जाने बुझेका कुरा छोरा नातिले बाँचुञ्जेल जानून् भनेर पढाउन थालेका हौँ ।”

प्रायः गरेर लिम्बू भाषा पढ्न आउने अधिकांश विद्यार्थी मेचीनगर ६ र ७ मा पर्ने आदर्श मावि, काँकरभिट्टा मावि, लक्ष्मी आधारभूत विद्यालय, लोफोफोरस अङ्ग्रेजी विद्यालय र सूर्योदय अङ्ग्रेजी विद्यालयमा पढ्छन् ।

सामुदायिक र संस्थागत विद्यालयको बाल कक्षादेखि कक्षा ११ सम्म पढ्दै आएका उनीहरुलाई शिक्षक हस्त आङ्दम्बे र भवानीविक्रम तुम्बापोले लिम्बू भाषा सिकाइरहेका छन् ।

कक्षा सञ्चालन गर्न आवश्यक विद्यार्थी जुटाउन लागिपरेका किरात याक्थुङ चुम्लुङ मेचीनगरका संस्थापक उपाध्यक्ष खेमध्वज बेघा भन्नुहुन्छ, “तुलनात्मक रुपमा छात्रा धेरै छन्, विद्यार्थी बढ्दैछन्, पढ्नेमध्ये उमाको बोल्ने, लेख्ने अभ्यास राम्रो छ ।”

नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी निरीक्षक बेघाले थप्नुभयोे, ‘‘लिम्बू भाषाको औपचारिक शिक्षा लिइन् मैले, मलाई आउँदैन, अहिले सिक्दैछु, सिक्न शनिबार सधैँ आउँछु ।’’ विद्यार्थीका लागि आवश्यक किताब, कापी, पेन्सिललगायत सामग्री र शिक्षकलाई चाहिने किताब, ह्वाइट बोर्ड, मार्कर, डस्टरलगायत आवश्यक शैक्षिक सामग्री केरुङले खरीद गरी जुटाई दिनुभएको छ ।

‘‘पारिश्रमिक लिएका छैनौँ, कतैबाट सहयोग आएको पनि छैन र मागेका पनि छैनौँ’’, मेचीनगर–६ निवासी शिक्षक आङ्देम्बे भन्नहुन्छ, “भाषा र लिपीको संरक्षण गर्नु मूल कुरा हो, त्यही भएर स्वयम्सेवकका रुपमा खटिइरहेका छौँ ।” उहाँले लिम्बू भाषा सबै जातजातिले सिकून् भन्ने अभिप्रायले सञ्चालन गरेको कक्षामा विद्यार्थी जुटाउन शुरुमा निक्कै सङ्घर्ष गर्नुपरको थियो ।

हाल उहाँकै घरको दोस्रो तलामा पढाउँदै गरेका केरुङले लिम्बू भाषाप्रति आकर्षित भएर विद्यार्थी आइरहे आफ्नै जमीनमा व्यवस्थित भवन बनाएर सधैँका लागि कक्षा चलाउने योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!