बीबीसी यदि तपाईं फेसबुक वा ट्वीटरको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंलाई पक्कै थाहा होला आजकाल सोसल मिडियामा #10YearChallenge भन्दै मानिसहरुले आफ्ना पुराना र नयाँ फोटो दाँजेर पोष्ट गरिरहेका छन् ।
यदि तपाईंमध्ये कसैले वा तपाईंले चिन्नुभएका कसैले यो ‘च्यालेन्ज’ को धारामा बगेर आफ्नो अहिलेको र १० वा २० वर्ष पुरानो तस्बिरलाई एकसाथ पोष्ट गरिरहेको देख्दा तपाईंलाई पनि यस्तो गरौँ गरौँ लागेको हुनुहपर्छ ।
तर बीबीसीले यसो नगर्न सुझाएको छ ।
सुरुमा हेर्दा यो ट्रेन्डले खासै केही बेफाइदा पुर्याउलाजस्तो देखिँदैन । तर सोसल मिडियामा भाइरल हुने वा भाइरल बनाइने हरेक कुराको पछाडि कुनै न कुनै विशेषता पक्कै हुन्छ ।
के यो कुनै बिजनेस आइडियाको हिस्सा हो ? के जनतासँग नियोजितरुपमा डाटा बैंक तयार गर्नका लागि उनीहरुमार्फत् नयाँ र पुराना तस्बिर पोष्ट गराइँदैछ ? के यसको पछाडि कुनै षड्यन्त्र छ ? के हामी यो तथाकथित च्यालेन्जबाट टाढै बस्नुपर्छ ?
फेसबुकले के भन्यो ?
यी सबै प्रश्नको जवाफ खोज्नुअघि फेसबुकको बयान थाहा पाउनुहोस् । सोसल मिडिया नेटवर्कले भनेको छ, ‘यो प्रयोगकर्ताले नै बनाएको मीम हो, जुन आफैं भाइरल भएको हो । फेसबुकले यो ट्रेन्ड सुरु गरेको होइन ।’
‘मीमले त्यही फोटो प्रयोग गर्छन् जुन पहिलेदेखि नै फेसबुक उपलब्ध छन् । फेसबुकलाई यसबाट केही फाइदा छैन । र यो पनि याद राख्नुपर्छ कि फेसबुकले कुनै पनि बेला फेशियल रिकग्निशन फिचर हटाउन वा लागु गर्न सक्छ,’ कम्पनीले भनेको छ ।
बयानमा फेसबुकको धारणा स्पष्ट छ । तर यहाँ #10YearChallenge बारे कुरा नगर्ने हो भने पनि हामीले पछिल्लो समयमा यस्ता थुप्रै सोसल गेम्स वा मीम देख्न पायौं, जुन सोसल इन्जिनियरिङका हिस्सा थिए जसको उद्देश्य डाटा निकाल्ने र बटुल्ने थियो ।
तर जानकारका अनुसार यो च्यालेन्ज टाइम पास गर्न र मजा लिनका लागि मात्र होइन । यसबाट टाढा रहनु नै भविष्यमा हुने सम्भावित डाटा चोरीबाट बच्नु हो ।
डराउन आवश्यक छ ?
भारतका चर्चित साइबर कानून विज्ञ पवन दुग्गललाई के यसको दुरुपयोग हुनसक्छ भन्ने बारे जानकारी लिन खोजियो तब उनले बीबीसीलाई भने, ‘हो, पक्कै पनि । साइबर अपराधी यसको दुरुपयोग गर्न सक्छन् ।’
तर १० वर्ष पुरानो तस्बिर सोसल मिडियामा राख्दा के होला ? यसबारे उनले भने, हेर्नुहोस्, यस्तो प्रकारको दुरुपयोगबारे कुनै प्रमाण सार्वजनिक भएको छैन । तर एउटा कुरा बुझ्नुहोस् कि जुन तस्बिर अहिलेसम्म उपलब्ध थिएन, मानिसहरु अब त्यो सार्वजनिक गरिरहेका छन् । ’
‘र जब यी तस्बिर सोसल मिडियामा आउँछन् तब यसको मर्फिङ हुनसक्छ, टार्गेट गर्नका लागि प्रयोग हुनसक्छ,’ उनले भने ।
फेशियल रिकग्निशन एल्गोरिदममा यो मामला कसरी सम्बन्धित छ भन्ने प्रश्नमा दुग्गलले भने, ‘संसारभरी फेशियल रिकग्निशन एल्गोरिदममा निकै काम चलिरहेको छ । यसमार्फत यो सजिलै पत्ता लगाउन सकिन्छ कि १० वर्षमा अनुहार कति परिवर्तन भइरहेको छ ।’
‘यी तस्बिरको मद्दतले फेशियल रिकग्निशनमा काम गर्ने एजेन्सी आफ्नो सफ्टवेयरलाई थप बलियो एवं क्षमतावान् बनाउन सक्छन्,’ उनले भने ।
पुराना फोटो किन खतरनाक ?
तर हामीले १० वर्षअघि फेसबुकमा पोष्ट गरेका तस्बिर के हुन्छ त ? ती त पहिलेदेखि नै फेसबुकमा थिए, अहिले आएर यसले कसरी क्षती निम्त्याउन सक्छ ?
यसबारे दुग्गल भन्छन्, ‘यो साँचो हो कि यी तस्बिर पहिलेदेखि नै फेसबुकमा थिए, तर फेसबुकभित्रै पनि अन्य कुनै स्थानमा थियो । यो च्यालेन्जमा तपाईं पुराना तस्बिरलाई निकालेर आफ्ना नयाँ तस्बिरसँग तुलना गरेर पुनः अपलोड गर्दै हुनुहुन्छ ।’
‘त्यसकारण तपाईंले यस्तो गरेपछि एउटा नयाँ डाटा सेट भइरहेको हुन्छ जुन पहिले सोसल मिडिया वेबसाइटसँग थिएन । एजेन्सीका लागि यो कम्पेरेटिभ स्टडीको मामला हो । यसमार्फत साइबर अपराधीले पनि गलत प्रयोग गर्नसक्छन् कि भन्ने डर छ,’ उनले भने ।
‘यसकारण यस्तो च्यालेन्जबाट मानिसहरु टाढै रहनुपर्छ किनभने तपाईं आफ्ना तस्बिर पोष्ट मात्र गरिरहनुभएको छैन, तपाईंले पुराना र संवेदनशील जानकारी कम्पनीलाई प्रदान गरिरहनुभएको छ जसको कति दुरुपयोग हुनसक्छ, त्यो तपाईंले अन्दाज पनि लगाउन सक्नुहुन्न ।’