सिरहा २४, पुस सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गर्नुभयो ।
स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उहाँको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाया, अन्नबाली तथा छिमेकी विन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको थियो ।
आगलागी भएको घटना थाहा पाएलगत्तै गाउँपालिका अध्यक्षसहितका पदाधिकारी घटनास्थल पुगेको र पीडित परिवारकै आवश्यकताअनुसार तत्कालका लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्मललगायतका समान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेश्वरप्रसाद पटेलले जानकारी दिनुभयो ।