
धनकुटा, १७ मंसिर । बरिष्ठ साहित्यकार झमक घिमिरे र संगालोखबरका प्रधान सम्पादक रबिन कटेल सम्मानित भएका छन् । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोडिङ स्कुलले रजत जयन्ती तथा आठौं फडिन्द्रप्रसाद लुइटेल स्मृति दिवसको अवसर पारेर साहित्यकार घिमिरे र पत्रकार कटेललाई नगदसहित सम्मान गरेको हो ।
कार्यक्रममा साहित्यकार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले दोसल्ला र प्रमाणपत्र तथा विद्यालयका अध्यक्ष चिन्तामणि लुइटेलले नगद २५ हजार प्रदान गरी सम्मानित गरे ।

धनकुटामा जन्मिएर साहित्य क्षेत्रबाट समाजको विकासमा पुर्याएको योगदानको कदर गर्दै साहित्यकार घिमिरेलाई सम्मान गरिएको हो ।
त्यस्तैगरी पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पुर्याएको भन्दै प्रधान सम्पादक कटेललाई सम्मान गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य लिला सुब्बाले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नुका साथै विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुइटेलले नगद ५ हजार प्रदान गरेर कटेललाई सम्मान गरेका हुन् ।

साहित्यकार घिमिरे मदन पुरस्कार बिजेता हुन् भने पत्रकार कटेल १० बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल छन् ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पनि विद्यालयले पुरस्कृत गरेको थियो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रामबहादुर थापा, प्रदेशसभा सदस्य लिला सुब्बा, शिक्षा विकास निर्देशनालयका उपसचिव मोहन राई, धनकुटा नगरपालिकाका उपमेयर सकुन्तला बस्नेत लगायतले तमोर भ्याली स्कुलले छोटो अवधिमै धेरै प्रगति गरेको भन्दै गुणस्तरीय शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना व्यक्त गरे ।
२०५० सालमा स्थापना भएको तमोर भ्याली स्कुलमा ५ सय ३६ विद्यार्थी अध्ययनरत छन् । कक्षा १० सम्म अध्यापन गराउँदै आएको तमोर भ्याली गुणस्तरीय शिक्षाका क्षेत्रमा धनकुटाको उत्कृष्ट विद्यालयहरु मध्यमा चिनिने गरेको छ ।
भिडियो हेर्नुहोस्…















