
धनकुटा, १० मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती तथा आठौं फणिन्द्र लुइँटेल स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । स्कुल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँन सात दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
गत आईतवारदेखि आगामी शनिवारसम्म बिभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाउँन लागिएको विद्यालयका प्रद्यानाध्यापक दुर्गा लुइँटेलले जानकारी दिए । उनका अनुसार कार्यक्रमको पहिलो दिन मुलघाट स्थित बिश्रान्ति वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई खाना र खाजा खुवाइएको छ । वृद्धवृद्धाहरुलाई मनोरञ्जन दिलाउँन विद्यालयले विद्धाश्रममै साँस्कृतिक कार्यक्रमसमेत गरेको छ ।

यता जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण र श्रीपञ्चमी पार्क स्थित अनाथ आश्रमका बालबालिकाहरुलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ । छ दिनसम्म विभिन्न कार्यक्रम गरेर सातौं दिन आगामी शनिवार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
साहित्यकार घिमिरे र पत्रकार कटेललाई सम्मानित गरिने
यसैवीच सोहि कार्यक्रममा वरिष्ठ साहित्यकार झमक कुमारी घिमिरे र पत्रकार रबिन कटेललाई सम्मानित गरिने विद्यालयका प्रद्यानाध्यापक लुइँटेलले जानकारी दिए ।
साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै घिमिरे र पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको मुल्यांकन गर्दै कटेललाई सम्मानित गर्न लागिएको हो । साहित्यकार घिमिरे मदन पुरस्कार बिजेता हुन् भने १० बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियासिल कटेल संगालोखबरका प्रधान सम्पादकसमेत हुन् ।


















