
तेह्रथुम, ७ मङ्सिर । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित १० हजार, घरभित्र रहेको अन्नपात, काठपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको हो । आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।
करणी प्रयासमा एक पक्राउ
एक १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताए ।
उनका अनुसार मङ्गलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















