मङ्गलबारे, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार/चार करोड विनियोजन गरेका छन ।
नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन।
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु ६० लाखका दरले रकम छुट्याउनुभएको छ । इलाम नगरपालिकामा रु १० लाख विनियोजन गर्नुभएको छ । उनले २० योजना छनोट गरेका हुन ।
यसैगरी क्षेत्र नं २ का सांसद नेम्वाङले इलाम नगरपालिकाको लागि रु ९० लाख, देउमाई नगरपालिकाका लागि रु ८३ लाख, माई नगरपालिकामा रु ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु ६५ लाखका दरले रकम विनियोजन गरेका हुन ।
नेम्वाङले १७ योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गर्नुभएको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए।
सो अनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका छन ।
नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरूम्बा हुँदै गाग्रेभञ्याङ जोड्ने सडकको लागि रु ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणको लागि रु ५० लाख छुट्याएका हुन । सङ्घीय सांसदले रु चार करोड बराबरको योजना कात्तिक ३० गतेभित्र छनोट प्रावधानअनुरूप उहाँहरूले बजेट तथा योजना छनोट गरेका हुन ।