दमक, १७ कात्तिक । झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले औलो रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।
अन्तरक्रियामा उक्त रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले झापाको मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलो रोगको संक्रमण भेटिएको उल्लेख गरे ।
संक्रमित तीमध्ये दुई रोजगारीका लागि भारतबाट आएका थिए । उनका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई औलो रोगी संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताए ।
औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको छ । नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेकोे दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए ।
सो अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए ।