भक्तपुर, १६ कात्तिक । पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिको समेत विकास भएको चर्चा गर्दै उनले यसविरुद्धको खोप शुरु गर्न लागिएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालय, नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर क्यान्सर अस्पताल र अमेरिकन सोसाइटी अफ क्लिनिकल ओक्कोलोजीको संयुक्त आयोजनामा शुरु भएको गोष्ठीमा क्यान्सर विशेषज्ञले नेपालका विभिन्न अस्पतालका करीब २५० चिकित्सक र स्वास्थ्यकर्मीलाई पाठेघर मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण गराउने भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले बताए ।

गोष्ठीमा अमेरिकाका पाँच, भारतका पाँच, चीनका तीन र नेपालका २६ गरी ३९ क्यान्सर विशेषज्ञले प्रशिक्षण एवं क्यान्सरको अवस्था, चुनौती र समाधानबारे जानकारी गराउने उनले जानकारी दिए ।

कात्तिक १७ गतेसम्म सञ्चालन हुने गोष्ठीमा नेपालमा महिलामा हुने पाठेघर मुखको क्यान्सरको न्यूनीकरण र उपचार पद्वतिका बारेमा सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षणसमेत दिइने अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!