धनकुटा, १६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालिन प्रमुख भानुभक्त येङ्देन सहित चार जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
येङ्देन सहित लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरीकुमार पोख्रेल र तत्कालिन खोप सुपरभाइजर प्रकाश अधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जनाईएको छ ।
येङ्देन र राईले पोख्रेल र अधिकारीसँगको मिलेमतोमा आर्थिक वर्ष २०६९/७०मा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको लागि दादुरा रुवेला खोप कार्यक्रम अन्तर्गत निकासा भएको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधि ढुवानी, सवारी साधनको इन्धन खर्च तथा व्यावस्थापनका सामान खरिद गरेको भन्दै कामै नगरी काम गरेको नक्कली बिल भरपाइ तयार गरेको अख्तियारको ठहर छ ।
उनीहरुले ३ लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको बदनियत साथ तोकिएको शिर्षकमा खर्च नगरी नक्कली बिल भरपाइ तयार गरि आफूलाई गैरकानुनी लाभ पुर्याउने र नेपाल सरकारलाई जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा हानी नोक्सानी पुर्याउने काम गरि रकम हिनामिना गरेको अख्तियार स्रोतले जनाएको छ।
गैर कानुनी लाभ पुर्याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को (ङ) बमोजिम कसुर गरेको देखिएकोले तत्कालिन प्रमुख येङ्देन र लेखा अधिकृत राईलाई जनही ३ लाख ८१ हजार ८१ रुपैयाँ ७५ पैसाको बिगो सहित सोही ऐन बमोजिम सजायको मागदावी अख्तियारले गरेको छ। नायव सुब्बा पोख्रेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को सोही बमोजिम कसुरको मात्रा अनुसार कैद सजाय, बिगो बमोजिम जरिवाना गरी निजबाट बिगो २ लाख ४७ हजार ९१ रुपैयाँ ७५ पैसा समेत असुल उपर गरी पाउन मागदाबी अख्तियारले गरेको छ।
त्यसैगरि तत्कालिन खोप सुपारभाइजर अधिकारीले पनि सोही बमोजिमको कसुर गरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरको मात्रा अनुसार कैद जरिवाना र बिगो १ लाख ३३ हजार ९ सय ९० रुपैयाँ सहित विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।