धनकुटा, १६ कात्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ को स्थायी राजधानीका लागि चार वटा संभाव्य स्थान रहेको खुलासा गरेका छन् ।
पछिल्लो समय विभिन्न स्थानमा राजधानी रहने चर्चा तथा हल्ला भइरहेको अवस्थामा मन्त्री कार्कीले धनकुटा, धरान, इटहरी र विराटनगर मुख्य संभाव्य स्थल रहेको बताए । धनकुटामा आयोजित पत्रकार भेलामा उनले सो कुरा बताएका हुन् । ‘बढी चर्चामा रहेको र सहमतिका आधारमा चार स्थान मध्येमा राजधानी तोकिने छ,’ कार्कीले भने, ‘राजधानी एकै स्थानमा मात्र सिमित नहुन पनि सक्छ ।’ धनकुटाबासीले धनकुटामा स्थायी राजधानीको माग राख्नु नैसर्गिक अधिकार रहेको उल्लेख गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेका कार्यको अवलोकन र सुरक्षा व्यवस्था लगायतका गोष्ठीका लागि मन्त्री कार्की धनकुटा आएका थिए । उनले प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। ‘सामाजिक महत्व, राष्ट्रिय एकता, संप्रभुता, जनतालाई सुविधालाई ध्यान दिएर राजधानीका स्थान तोक्ने तयारीमा छौ,’ मन्त्री कार्कीले भने, ‘आगामी संसद अधिवेशनमा राजधानी टुंग्याउने तयारीमा छौ।’
अधिकांस समय धनकुटाको विषयमा खर्चेका मन्त्री कार्कीले धनकुटा राजधानीका लागि उपयुक्त ठाउँमध्ये एक रहेको बताए । धनकुटा राजधानी भएपनि, नभएपनि धनकुटाको विकास हुने बताउँदै मन्त्री कार्कीले धनकुटामा ५ सय बेडको अस्पताल र त्यसलाई पछि टिचीङ अस्पताल बनाउने योजना रहेको आश्वासन दिए ।
यसैगरी प्रदेशको नामाकरणका विषयमा कोशी, सगरमाथा, किराँत, लिम्बुवान, विराट लगायतका माग रहेको बताउँदै कार्कीले भुगोल र पहिचानलाई जोडेर राख्नुपर्ने माग आएको पनि बताए। सबैको सहमतिमा छोटो नाम राख्ने पक्षमा रहेको उनको भनाई थियो।
फरक प्रसंगमा मन्त्री कार्कीले किमाथांका जोगवनी सडक बजारको बीचबाट लाने की बजार जोगाएर लाने भन्ने समस्या रहेको बताए। उनले बजारको बीचबाट लानुपर्ने धारणा रहेको स्पष्ट पारे ।