ईश्वर थापा/संगालोखबर

धनकुटा,१२ कात्तिक । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । प्रहरीले आइतवार मुलुकभरी एकै साथ थालनी गरेको अभियान धनकुटामा पनि विशेष कार्यक्रमको आयोजना गरेर स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान थालिएको छ ।

Advertisement

अभियानले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए। गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्यएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात गरी उक्त कार्यक्रम अघि सारिएको उनको भनाई छ ।

उक्त अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुनेछ। कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरीले जनाएको छ। ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रममा अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए।

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सीमित समयपछि प्रभावकारी हुन सकेका थिएनन्। नयाँ अभियानलाई भने दिगो र दीर्घकालिन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको दावी गरिएको छ ।

देशभरि सञ्चालन हुने कार्यक्रममा ७५३ स्थानीय तहसँग समन्वय गरिनेछ। दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने अनुमान प्रहरीको छ। प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको समेत अपेक्षा प्रहरीको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यो कार्यक्रममा प्रहरी विद्यालय बीचको सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना संकलन र आदानप्रदान प्राथमिकतामा पर्ने बताइएको छ। त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणका लागि लागि प्रभावकारी हुने प्रहरी नायब उपरिक्षक उमेश लम्सालले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!