काठमाडौँ, ८ भदौ । संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् ।
बेनी नगरपालिका–६ स्थित जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत छात्रा पूजा खत्रीले घरमा खाने खर्च र कापीकलम किन्ने पैसा नभएकाले विद्यालय जान नसकेको भावुक पत्र प्रधानाध्यापकलाई पठाएकी छिन् ।
छात्रा खत्रीले पत्रमा पारिवारिक र आर्थिक अवस्थाका कारण विद्यालय आउन नसक्ने भएकाले विद्यालयबाट निकाला गरिदिन प्रधानाध्यापकसमक्ष अनुरोध गरेकी छिन् ।
‘म धेरैजसो विद्यालयमा उपस्थित हुन पाइनँ, अब मलाई ‘रेस्टिगेट’ गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु,’ पत्रमा लेखेकी छिन्, ‘घरमा न खाने खर्च छ, न लेख्ने पढ्ने कापीकलम भएकोले हो सर म बाध्यताले विद्यालयमा आउन सकिनँ मलाई पढाइ दिने कोही छैनन् ।’
पूजाले साथीमार्फत १ भदौमा प्रअलाई पत्र पठाएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।