काठमाडौँ, ८ भदौ । नेपाल वायु सेवा निगमको वाइड बडीलाई थप अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने योजना विफल भएको छ । दुईवटा वाइड बडी विमान ल्याएर थप तीन देशमा उडान भर्ने निगमको योजना युरोपियन युनियन (ईयू) ले लगाएको प्रतिबन्धका कारण असफल भएको हो ।
नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमले हाल सञ्चालन भइरहेकै सेक्टरमा दुवै वाइड बडी उडाउनुपर्ने बाध्यता आइलागेको छ । निगमले भारतको नयाँदिल्ली, बेंगलोर, मुम्बई, हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ।
निगम स्रोतका अनुसार निगमका पदाधिकारी दक्षिण कोरिया, रियाद र जापानमा उडानका लागि अनुमति लिन गएका थिए । तीसम्बद्ध देशका उड्डयन अधिकारीले ईयूले नेपाललाई कालोसूचीमा राखेको कारण देखाउँदै उडान अनुमति दिन असमर्थता प्रकट गरेका थिए । ईयूअन्तर्गतका २८ देशमा नेपालका कुनै पनि जहाजलाई उड्न रोक लगाइएको छ । आजको अन्नपूर्ण पोष्टमा यो खबर छ ।