काठमाडौ, ४ असार । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा. गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताउनुभएको छ ।
अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको कडा शब्दमा भर्सना गनुृभएको छ । डा. केसीको माग पूरा गर्न अघिल्लो सरकारले अध्यादेशको रुपमा ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु नल्याएका कांग्रेसलाई मान्य नहुने भन्दै उहाँले सरकारको रवैयाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी पनि दिनुभएको छ ।
डा. केसीको जीवन रक्षा हुनुपर्ने भन्दै यसलाई सानोतिनो कुराको रुपमा लिएर सरकारले गम्भीर भुल गरिरहेको भन्दै कांग्रेस सभापति देउवाले बिहीबार भएको प्रतिनिधिसभा बैठक स्थगनप्रति पनि असन्तोष प्रकट गर्नुभएको छ ।
सभापति देउवाले डा. केसीको मागको सम्बन्धमा समान धारणा बनाउन र सरकारविरुद्ध उभिन सरकारले संविधान उल्लंघन गरिरहेकाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नयाँ शक्ति पार्टीका शीर्ष नेताहरुलाई पनि आग्रह गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।