खोटाङ, १ साउन ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ ।

Advertisement

हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी रु ५१ लाखको लागतमा पोखरी निर्माण गरिएको हो ।

मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा निर्माण गरिएको पोखरीको लम्बाइ ३२ मिटर रहेको छ । बीच भागमा ब्रिज डाइनिङ बनाइएको पोखरीको दाँया र बाँया पानीको फोहोरा छोडिने र पोखरीमा रंगीन माछा राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताए ।

गत फागुनदेखि निर्माण शुरु गरिएको पोखरीमा अहिले पानी चुहिन नदिन पनिङ प्लाष्टर, कलरिङ तथा पोखरी कम्पाउण्ड बाहिरको फलामको डण्डी, जाली वेल्डिङ, मुख्य गेट निर्माणको काम भइरहेको छ । ब्रिज डाइनिङको माथिबाट सेन्सर बिजुली बत्ती र डिजिटल बोर्ड राखिने उपभोक्ता समितिले जनाएको छ ।

पुरानो आहाललाई परिमार्जित गर्दै बनाइएको पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी हाल्ने र फोहर भएपछि पुनः परिवर्तन गर्ने तयारी गरिएको छ । महुरेगढीमा मान्छेको आँखा आकारको पोखरी निर्माण भएपछि हेर्नेको भीड लाग्न थालेको छ ।

महुरेगढी दिक्तेल–हलेसी र दिक्तेल–गाईघाट सडकको संगमस्थलमा पर्छ । ऐतिहासिक एवं पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माण गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडाध्यक्ष भीम राईले बताए।

महुरेगढीमा विशेष गरी हिमशृंखला, तराईका फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । महुरेगढी आउने पर्यटकलाई थप मनोरञ्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने उद्देश्यले अन्य ठाउँमा निर्माण भएको भन्दा छुट्टै, मानिसको आँखा आकारको पोखरी निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दीपनारायण रिजालले बताए ।

पोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्वीरसमेत राख्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिकाको सिमाना नजिक पर्ने महुरेगढी समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा पर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!