भक्तपुर, १३ जेठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ ।

प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।

गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको प्रहरीको भनाइ छ ।

मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणितलगायतको कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानमा खुलेको जनाएको छ ।

बाबुको मिर्गौला प्रत्यारोपण गर्न थर्कबहादुरका छोरा आशिष बस्नेतले मिर्गाैला खोजी गर्नेक्रममा काभ्रे टुकुचाकै डल्लुराज गिरी र लालचन्द्र गिरीसँग भेट गरी योजना बनाएको पाइएको छ । गिरीद्वयले आशिषलाई मानसिक रोगी रहेको र परिवारसँग सधैँ नबस्ने कुमारको मिर्गौला झिक्दा कसैलाई थाहा नहुने भन्दै योजना बनाएको आरोप पीडितका बुबा भोलानाथ गिरीले जानकारी दिनुभयो ।

यो गिरोहको योजनाअनुसार चाँगुबाट कुमारलाई समातेर डेरामा ल्याएर फकाएर राखेको र बेलाबेलामा भाग्दा पनि पिछा गरेर समातेर ल्याउँदै कोठामा राख्दै डर, धम्की, त्रास र प्रलोभन देखाउने गरेको पाइएको पीडित परिवारको भनाइ छ ।

थर्कमानको छोरा आशिषको नाममा सबै कागजपत्र मिलाएर अन्त्यमा नाता प्रमाणितलगायतमा आशिषको फोटो झिकेर कुमारको फोटो टाँस गरी मानव अंग प्रत्यारोपण केन्द्रमा लगेर कुमारको मिर्गौला झिकेर थर्कमानलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ ।

पीडित कुमारले बताएअनुसार डर, धम्की, त्रास र प्रलोभनमा पारेर पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला झिकेको पीडतका हजुरबुबा गणेश गिरीले बताउनुभयो । आशिषले रु १० हजार दिइसकेको छु, अंश पनि दिन्छु शल्यक्रिया गर भनेर डर तथा प्रलोभन देखाएर कुमारको मिर्गौला झिकेर आफ्नो बाबुलाई प्रत्यारोपण गरेको उहाँको दाबी छ ।

मिर्गौला झिकेपछि पनि एक साता अस्पताल राखेपछि बस्नेतले थप केही दिन आफ्नै कोठामा राखी पछि अब काम सकियो भन्दै काठमाडौँ सितापाइलास्थित कुमारको फूपू शारदा गिरीको घर नजिकै लगेर छाडिदिएपछि आफन्तले भेटाएर घरमा लगेका थिए । त्यसपछि फूपूको घरमा कुमारले नुहाउँदा पेट चिरिएको देखेपछि घटना सार्वजनिक भएको थियो ।

मिर्गौला झिक्नुअघि आशिषलगायतको गिरोहले वीर अस्पतालमा कुमारको सबै स्वास्थ्य परीक्षण र रगतसमेत जाँच गराएर गत वैशाख १० गते केन्द्रमा कुमारको मिर्गौला झिकेर थर्कबहादुरलाई प्रत्यारोपण गरिएको आफन्तको भनाइ छ ।

पीडितका परिवार प्रह्लाद गिरीले घटना थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएलगत्तै थर्कबहादुरलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । गिरोहमा संलग्न रहेको भनिएका आशिष, डल्लुराज र लालचन्द्र फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

पीडित परिवारले भने घटनामा अस्पतालका चिकित्सकको समेत मिलेमतो रहेको भन्दै कडा र सुक्ष्मरुपमा अनुसन्धान गरी सबै दोषीलाई कारबाही गर्नुपर्ने एवं पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने माग गरेका छन् ।

यसअघि पनि मानव अंग प्रत्यारोपण केन्द्र आसपासमा मिर्गौला तस्करीमा लागेको गिरोह सक्रिय भएको, नेपाल र भारतमासमेत लगेर मिर्गौला किनबेच गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले छापा मार्ने र निगरानी बढाएको थियो । प्रहरीले बस्नेतलाई मानव अंग बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको र फरारको खोजी भइरहेको जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!