नेपाल आयल निगम । फाईल तस्वीर

काठमाडौं, २३ माघ । नेपाल आयल निगमको महिनाको घाटा ४८ करोड रुपैयाँ नाघेको छ । आयल निगमले दिएको जानकारी अनुसार यो घाटा कायम रहिरहे र अझै बढे अबको ४ देखि ५ महिनापछि निगमले तेल आयातका लागि फेरि ऋणको खोज्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटले निगम ३ वर्ष लगातार नाफामा थियो । निगमले यही अवधिमा अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा तेल महंगोमा बेच्दै ३७ अर्ब पुरानो ऋण पनि तिर्‍यो ।

Advertisement

तर, केही महिनाअघि ओपेकले तेल उत्पादनमा कटौति गरेपछि आयल निगम फेरि घाटा उन्मूख भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै तेल महंगिँदै छ । त्यसैले निगमका अधिकारी अब फेरि निगम ऋणको भारी बोक्ने अवस्थमा आएको दावी गर्छन् ।

सरकार मूल्य नबढाउन दृढ

अहिलेको सरकार अन्तर्राष्ट्रिय मूल्यअनुरुप पेट्रोलियम पदार्थमा समायोजन गर्न तयार छैन ।  अहिले तेलको मूल्य लगातार उकालो लागिरहेको छ ।

अलोकपि्रय हुने डरले आपूर्तिमन्त्री दीपक बोहोराले मूल्य बढाउने निगमको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।

अहिले निगमसँग मूल्य स्थीरिकरण कोषमा साढे ३ अर्ब रुपैयाँ छ । यो कोष घाटा पूर्तिका लागि नै खडा गरिएको थियो । यसमा प्रत्येक वर्ष ५० करोड जति जम्मा भएको थियो । अहिले भइरहेको घाटालाई यही स्थिरीकरण कोषबाट पूर्ति गर्न लागिएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले बताए ।

उनी अब निगमले फेरि मासिक आधा अर्बको घटा बेहोर्ने अवस्था आएको बताउँछन् ।

केमा कति घाटा-नाफा ?

खनालले भारतीय आयल कर्पोरशेनबाट प्राप्त नयाँ मूल्यसूचीले निगमलाई मट्टीतेल, पेट्रोल र हवाइ इन्धनमा मात्र केही प्रतिशत नाफा बचेको बताए ।

अहिले निगमलाई सबैभन्दा धेरै एलपीजी ग्यासमा घाटा छ । यही हप्ता सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएपनि अहिले प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ घाटा निगममाथि छ ।

यसैगरी डिजेलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा छ । पेट्रोलमा भने निगमलाई लिटरको ५६ पैसा नाफा छ ।

मट्टीतेलको नाफा लिटरका १३ रुपैयाँ ४० पैसा छ । यसैगरी हवाइ इन्धनमा पनि निगमलाई घाटा छैन । तर, ग्यासमा भएको घाटाले निगमलाई ठूलो घाटामा धकेलेको छ ।

निगमका प्रवक्ता खनाल घाटा कायम राखेर मुल्य नबढाए केही महिनाभित्रै निगमलाई आर्थिक रुपमा ‘बच्न’, ‘टिक्न’ गाह्रो हुने बताउँछन् ।

‘नागरिकलाई मूल्यवृद्धिको मारमा पर्न नदिन मूल्य नबढाइएको हो । तर, यो निगमले लामो समय थेग्न सक्ने अवस्था भने छैन’ खनालले भने,’अब पेट्रोलियम आयात गर्ने कम्पनीको स्वर्ण युग सकियो ।’

‘कार्यविधि कार्यान्वयन गरौं’

निगमले तेलमा ५ प्रतिशत नाफा राखेर अन्र्तराष्ट्रिय मूल्य अनुरुप समायोजन गर्ने कार्यबिधि पारित गरिसकेको छ । तर, नाफा हुँदा यो कार्यबधि कुल्चिएर धेरै नाफा खाएर ऋण तिर्न केन्दि्रत भएको निगम अहिले त्यही कार्याबिधि कार्यान्वयन हुनुपर्ने बताउन थालेको छ ।

तीन वर्षको बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यहीअनुरुप निगमले मूल्य केहीले पनि घटाएन । प्रशस्त नाफा भइञ्जेल उसलाई कार्यविधिको वास्तै थिएन । अब घाटा हुनथालेपछि निगमले कार्यविधि सम्भिmएको छ ।

अब अन्तर्राष्ट्रिय मूल्यअनुरुप समायोजन नगरिए फेरि ऋण लिएर तेल आयात गर्नुपर्ने अवस्था आउने चेतावनी निगमका अधिकारीहरुको छ ।

तीन वर्षअघि भारतीय आयल कर्पोरेशनलाई तिनुपर्ने रकम तिर्न नसक्दा धेरैपटक आपूर्ति नै रोकिएको थियो । अब फेरि त्यही अवस्थातर्फ निगम अघि बढेको दावी अर्का एक उच्च अधिकारीको छ ।

‘भारतमा तेल गयो, घाटा बढ्यो’

ती अधिकारी नेपालबाट भारतमा तेलको कालोबजारी भइरहेकाले पनि मूल्य बढाउनै पर्ने दावी गर्छन् ।

‘अहिले भारतमा डिजेल नेपालमा भन्दा २५ रुपैयाँ महंगो छ । सीमापारीमा जनता पेट्रोलमा १८ रुपैयाँ बढी मूल्य तिर्दै छन् । नाफा थोरै राखेर मूल्य बढाउन नदिए निगमको अवस्था फेरि पुरानै हुनेछ’ निगमका एक अधिकारीले भने ।

मूल्य सस्तो हुँदा नेपालको तेल भारत गइरहेको र त्यसले निगमलाई थप नोक्सानी भइरहेको निगमको दावी छ ।

‘नेपालमा प्रत्येक वर्षमा स्वभाविक रुपमा १५ प्रतिशत तेलको माग बढ्छ । तर, अहिले यो मागवृद्धि अनुपात तराई क्षेत्रमा ३० प्रतिशत बढी छ’ निगमका उच्च अधिकारी भन्छन्, ‘१५ प्रतिशत तेल भारत फर्किने गरी आयात बढेको छ । यसले नोक्सानी थप बढेको छ ‘उनले भने ।

निगमका अधिकारी भारतबाट महंगोमा तेल किनेर सस्तोमा बेच्ने र तेल फेरि भारत फर्किने अवस्थाले अर्थतन्त्रलाई पनि समस्यामा पार्ने बताउँछन् ।

‘सीमा क्षेत्रबाट तेल तस्करी बढेको छ । नेपाली जनताले पाएको लाभ बापतको घाटा त बेहोरौंला । अब भारत गएको तेलको पनि घाटाले हामीलाई झन कमजोर बनाउने भयो’ ति अधिकारी भन्छन् ।

बोनस चाहिँ खाई छाड्ने

निगमका अधिकारी पेट्रोलियम भण्डारण बढाउने तयारी गरिरहँदा निगमलाई सुरु भएको घाटाबाट डराएका छन् । उनीहरु पूर्वाधारको विकासमा लागि छुट्याएको रकम पनि तेल आयातमै खर्च गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिन्छन् ।

तर, २ वर्षको नाफाबाटै कर्मचारीलाई बोनसका लागि छुट्याएको २ अर्ब रकम भने जसरी पनि खाने दाउमा निगम छ । आपूर्ति मन्त्रालयले तत्काल बोनस बाँड्न नदिने बताएको छ । तर, ऐन र बिनियमावलीअनुरुप छुट्याएको रकम भएकाले त्यसलाई कुनै समयमा नबाँडी सुखै नहुने दावी निगमका कर्मचारीको छ । अनलाईनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!