धनकुटा, ३१ बैशाख । धनकुटा नगरपालिका–६ ल्याण्डफिल्डसाईड नजिक आईतबार बिहान फेला परेको वेवारिशे शवको सनाखत भएको छ ।
धनकुटा–६ स्थित नगरपालिका कार्यालय नजिक घर भएका राजेश श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार राजेशलाई उनकै परिवार मिलेर हत्या गरेको तथ्य खुलेको छ ।
दिनहुँ जसो मादक पदार्थ सेवन गरि घर आउने श्रेष्ठले आमालाई कुटेपछि परिवारका सदस्यले मिलेर उनको हत्या गरेको पत्ता लागेको धनकुटाका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले संगालोखबरलाई जानकारी दिए ।
हत्यामा संलग्न भएको भन्दै मृतक राजेशका भाई ईश्वर श्रेष्ठ, भिनाजु अनिल डंगोल र धनकुटा–२ का रुमबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु पक्राउ परेसँगै हत्याको रहस्य खुलेको हो ।
यस्तो छ हत्याको कारण
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार राजेश मादक पदार्थ सेवन गरेर घर आई झगडा गर्ने र आमालाई पिट्ने गर्थे । उनको यो ब्यवहारले परिवारलाई सताएको थियो ।
उनको हत्या भएको दिन मादकपदार्थ सेवन गरी चिर्पट लिएर आमालाई कुट्न आएपछि आमा लुकेर छोरा अर्थात मृतकको भाई ईश्वरलाई खवर गरेकी थिइन् ।
२ घण्टापछि ईश्वरले उनीसँगै होटल प्यासिफिकमा काम गर्ने साथी रुमबहादुरलाई लिएर घर गएर राती राजेशको हत्या गरे । उनीहरुले राजेशलाई कुटपिट गरी सलले घाँटीमा कसेर हत्या गरेको प्रहरीको भनाई छ ।
ईश्वरले उनका भिनाजु अनिल डंगोललाई घटनाको बारेमा बताएपछि डंगोलको ट्याक्टरमा राखेर रातीनै ल्याण्डफिल्ड साइड नजिक लगेर फालेको अनुसन्धानबाट खुलेको धनकुटा प्रहरी निरीक्षक खेरवारले जानकारी दिए ।
यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…