- ईश्वर थापा/संगालोखबर

धनकुटा, २७ बैशाख । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई अन्याय हुँने निर्णय गरेको बिरोधमा कांग्रेस नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा लगाएको ताला चार महिनापछि बिहिबार खुलेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गर्दै १ नम्बर प्रदेशको अस्थायी राजधानी बिराटनगर तोकेपछि कांग्रेस जिल्ला समितिले असन्तुष्टी जनाउँदै जिल्ला पार्टी कार्यालयमा ताला लगाएको थियो ।

Advertisement

कांग्रेस जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी र सक्रिय सदस्यले पार्टी नेतृत्वले चालेको कदम गलत भएको निष्कर्ष निकाल्दै गत माघ ६ गते साधारण सदस्यसमेत नरहने गरी सामुहिक राजिनामा पनि दिएका थिए ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै कांग्रेसकै जिल्ला स्तरका नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरी पार्टीको झन्डा निकालेर कालो झन्डा गाडेका थिए ।

कांग्रेस पार्टी कार्यालयको ताला खोलिदै । तस्वीर: ईश्वर थापा/संगालोखबर

विहीबार धनकुटा आइपुगेका कांग्रेस प्रवक्ता तथा धनकुटा प्रतिनिधि विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रले धनकुटाको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ताला खालेर कालो झन्डा हटाई पार्टीको झन्डा राखिएको हो ।

यता कांग्रेस नेता कार्यकर्ताको राजिनामा भने अझै फिर्ता भएको छैन ।

सो अवसरमा कांग्रेस प्रवक्ता शर्माले धनकुटाको विषयमा पार्टी नेतृत्वको सरकारले गल्ती कमजोरी गरेको स्वीकार गर्दै क्षमा मागेका थिए । उनले धनकुटा पार्टीलाई हेर्ने दृष्टिकोणमा कमि हुन नदिने प्रतिवद्धता पनि जनाए ।

कांग्रेस जिल्ला सभापति अग्नीप्रसाद पौडेलले पार्टी केन्द्रसँग सहमति भएबमोजिम ताला खोलेर पार्टीको झन्डा राखिएको र पार्टी केन्द्रिय कार्यालयबाट प्रतिवद्धता पत्र आएपछि राजीनामा फिर्ता लिने जानकारी दिएका छन् ।

उनले भने, ‘पार्टी केन्द्रले धनकुटाको मागलाई सम्बोधन गर्न पहल गर्ने भनेपछि सकारात्मक दिशामा अगाडि बढेका हौं ।’ तालबन्दीका कारण धनकुटा कांग्रेसमा अवरुद्ध हुँदै आएको काम तालाखुलेसँगै सुचारु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!