
धनकुटा, १५ बैशाख। धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागि परेका छन् । बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको छ ।
चालू आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरणको अभियान शुरु गरिएको छ ।
बाँदर समात्न भारतबाट आएका तालिमप्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् । वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीय टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ, क्षेत्रका जंगलमा बाँदर दोज्दै डुल्दै छन् ।
यी क्षेत्रका ४ सयभन्दा बढी बाँदर नियन्त्रण गरी स्थानान्तरण गरिसकिएको जानकारी वडाध्यक्ष श्रेष्ठले दिए ।















