कञ्चनपुर, २४ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।

द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो ।

Advertisement

एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श सेवा प्रदान गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो ।

“१२ जना शान्तिदूतलाई परिचालन गरी पीडामा रहेका महिलाको खोजी गरी मनोविमर्श सेवा दिने गरेका छौँ,” उहाँले भन्नुभयो, “जसका लागि शुक्लाफाँटा र बेदकोटमा गरी दुईवटा शान्ति केन्द्र स्थापना गरिएको छ ।”

केन्द्रमै मनोविमर्श सचेतनासँगै स्वस्थ रहने तरिकाबारे जानकारी दिइने गरिएको छ । व्यक्तिगतरुपमा ५५ जना र सामुदायिक समूहमा ८३६ जनालाई मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रम अधिकृत डम्बरी विष्ट (कुँवर)ले बताउनुभयो ।

“विशेषगरी द्वन्द्वपीडित एकल महिला र उनीहरुका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरेका छौँ” उहाँले भन्नुभयो ।

सामाजिकरुपमा पछाडि परेका महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकार स्थापित गरी आत्मनिर्भर बनाउनका लागि रु पाँच लाख १० हजार रकम परिचालन गरी सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!