काठमाडौं, २३ फागुन। भारतीय उच्च अधिकारीले सम्पूर्ण उच्च भारतीय पदाधिकारीहरूलाई तिब्बती कार्यक्रमबाट टाढा रहन भनेको गोप्यपत्र समाचारपत्रहरूले सार्वजनिक गरेको तीन दिनपछि दिल्लीमा हुने तिब्बती कार्यक्रम स्थतिग भएको छ । आयोजकहरूले सो कार्यक्रम हिमाञ्चल प्रदेशस्थित धर्मशालामा सारेका छन् । प्रवासमा रहेको तिब्बती प्रशासनले दलाई लामा भारत प्रवेश गरेका ६० वर्ष पुगेको अवसरमा दिल्लीमा विभिन्न कार्यक्रम राखेको थियो ।

Advertisement

आयोजक ‘केन्द्रीय तिब्बती प्रशासन’का अधिकारीहरूले स्थान परिपवर्तनमा समाचारमा आएको पत्रको कुनै प्रभाव नरहेको प्रतिक्रिया दिएको छन् । उनीहरूले आफूहरूलाई भारत सरकारबाट कुनै खालको दबाब नआएको बताएको छन् ।

दिल्लीमा रहेका चिनियाँ अवलोकनकर्ता भने सार्वजनिक भएको नयाँ परिपत्रबाट आश्चर्यमा परेका छन् । केहीअघिसम्म चीनविरुद्ध सहजै ‘तिब्बत कार्ड’ खेल्ने गरेको मोदी सरकारको अकस्मातको यो परिवर्तनलाई भारतको चीनसँग सम्बन्ध सुधारको प्रयासका रूपमा हेरिएको छ ।

दोक्लम सङ्कटदेखि भारत चीनबीच असहज सम्बन्ध रहँदै आएको छ ।

यस परिघटनाको सुरुवात ‘इन्डियन एक्सप्रेस’ले २ मार्चमा भारतीय विदेश सचिवले उच्च भारतीय पदाधिकारीहरूलाई लेखेको भनिएको पत्रबारे समाचार सार्वजनिक गरेपछि भएको थियो । उक्त पत्रमा आफ्ना केन्द्रीय र प्रादेशिक ‘उच्च नेताहरू’ र ‘सरकारी पदाधिकारीहरूलाई’ मार्चको अन्त्य र अप्रिलको प्रारम्भमा तिब्बती नेताहरूले गर्न लागेका कार्यक्रमहरूमा सहभागी नहुन भनिएको थियो । कार्यक्रमहरू दलाई लामाको भारत निर्वासनको ६० वर्ष पुगेको अवसरमा दिल्लीमा मार्च ३१ र अप्रिल १ मा आयोजना हुन लागेको थियो ।

फेब्रुअरी २२ मिति भएको सो पत्र परराष्ट्र सचिव विजय गोख्लेले क्याबिनेट सचिव पी.के. सिन्हालाई पठाएका थिए । बेइजिङका पूर्वराजदूत रहेका गोख्लेले सिन्हालाई ‘भारतीय सरकारको सम्पूर्ण मन्त्रालयहरू र विभागहरू तथा प्रादेशिक सरकारलाई प्रस्तावित वार्षिक कार्यक्रममा निमन्त्रणा नस्वीकार्न र सहभागी नहुन गोप्य ‘सल्लाह’ परिपत्र’ जारी गर्न आग्रह गरेका छन् ।

त्यसको चार दिनपछि सिन्हाले सो निर्देशिकापत्रमा उल्लेख भएका केन्द्रीय र प्रादेशिक नेताहरूलाई परिपत्र पठाएको समाचारमा उल्लेख छ । चीनले तिब्बती धार्मिक नेता दलाई लामालाई पहिलेदेखि ‘विखण्डनकारी’ र ‘खतरनाक पृथक्तावादी’ भन्ने गरेको छ । उसले कुनै पनि सरकार दलाई लामासँगको नजिक भएको मन पराउँदैन ।

सचिवहरू र सरकारी विभागहरूका प्रमुखलाई पठाइएको सूचनामा सिन्हाले यी कार्यक्रमहरूमा सहभागिता ‘निरुत्साहित गर्नुपर्छ’ र ‘सो सम्बन्धमा उपयुक्त कदम चाल्न अनुरोध गरिन्छ’ भनिएको छ ।
परिपत्रमा उनले ‘विषयको संवेदनशील प्रकृतिलाई’ जोड दिन गोख्लेको पत्रका केही लाइनहरू उद्धरण गरेका छन् ।

परराष्ट्र सचिवको उद्धरण यस्तो रहेको छ ः “यसमा १ अप्रिल २०१८ मा नयाँदिल्लीस्थित थ्यागराज स्पोर्टस् कम्प्लेक्समा आयोजना गर्न लागिएको ‘धन्यवाद भारत !’ जस्ता ठूला सार्वजनिक कार्यक्रमहरू पनि समावेश रहेको छ । दलाई लामासँग जोडिएको संस्थाले भारतीय अतिथिहरूलाई पनि आमन्त्रित गर्ने सोच बनाएको सूचना छ । यसपछि पनि दिल्लीलगायत भारतका अन्य राज्यहरूमा अन्य कार्यक्रम हुने भनिएको छ ।”

“प्रस्तावित अवधि भारतको चीनसँगको सम्बन्धको सन्दर्भमा अत्यन्त संवेदनशील समय हुनेछ । केन्द्रका हुन् वा प्रदेशका शीर्ष नेताहरू र सरकारी पदाधिकारीहरूको यी कार्यक्रममा सहभागिता राम्रो मानिन्न र यसलाई निरुत्साहित गरिनुपर्छ ।”

गोख्लेले सो पत्र पठाएर चीन भ्रमणमा निक्लिएका थिए । विश्लेषकहरू यस्तो पत्र नियमित प्रक्रिया थियो र यो पटक चाहिँ बाहिर सार्वजनिक भएको हो कि भनेर पनि शङ्का गरिरहेका छन् ।

पत्रबारे समाचार सार्वजनिक भएपछि शुक्रबार जारी गरिएको वक्तव्यमा विदेश मन्त्रालयले भनेको छ “दलाई लामासँग सम्बन्धमा सरकारको अडान स्पष्ट र एउटै रहेको छ । उनी आदरणीय धार्मिक नेता हुन् र उनी भारतीय जनतामाझ सम्मानित छन् । हाम्रो पुरानो अडान बदलिएको छैन । उनलाई भारतमा आफ्ना धार्मिक क्रियाकलापहरू सञ्चालन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ ।” भारतको यो वक्तव्यलाई मुख लुकाउने प्रयासका रूपमा हेरिएको छ ।

आलोचकहरूले यस्तो निर्देशिकाले चीनलाई भारत आफ्ना दबाबसामु झुक्ने सन्देश जाने खतरा औँल्याएका छन् । तिनले यस्तो कार्यले भविष्यमा चीनले भारतमाथि आफ्ना थप चासो सम्बोधन गर्न माग गर्ने बाटो खोल्नेतर्फ सचेत हुन आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!