धनकुटा । धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिने भएको छ । धनकुटा नगरपालिकाको आयोजनामा आगामी मंसिर ४ गते प्रदर्शनी गर्न लागिएको हो ।
एभोकाडोसहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी गर्न लागिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने प्रदर्शनीमा एभोकाडो तथा उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।
प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइनेछ । स्थानीय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । प्रदर्शनीका लागि धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले कार्यालयको तर्फबाट सूचना जारी गरेर उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गर्न चाहने कृषक तथा व्यवसायीलाई मंसिर २ गतेभित्र कार्यालयमा सम्पर्क राखी स्टल बुक गराउन आग्रह गरेका छन् ।
कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया हुने भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारिकरणमा सघाउ पुर्याउने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारी बताउँछन् । प्रदर्शनी सफल पार्न नगरपालिकाले नगरवासी, कृषक, सहकारीकर्मी, विद्यार्थी, युवा, उद्यमी, व्यवसायी लगायत सबैलाई आग्रह गरेको छ ।